लगातार नेप्सेमा गिरावट, निर्वाचन घोषणा र बैंक ब्याज नघट्ने कुराले पनि विश्वस्त भएनन् लगानीकर्ता

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० साउन । लगातार सेयर बजार ओरालो लागिरहेको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ ।

एउटा उपसमूह म्युचुअल फण्ड बाहेक सबै १२ वटामा रातो लागेको छ । बिक्री भएका सेयर कित्ताकाे संख्या तथा कारोबार रकम पनि घटेको छ ।

सरकारले आगामी मंसिरको ४ गते संघ तथा प्रदेशको निर्वाचन एकै पटक गराउने घोषणा गरिसकेको छ । अर्कोतर्फ बैंकहरुको छाता संस्था बैंकर्स संघले तत्कालका लागि ब्याजदर यथास्थितिमा राख्ने अर्थात नबढाउने भनेता पनि सेयर बजारमा लगातार गिरावट हुनुले लगानीकर्तालाई विश्वस्त हुने अवस्था रहेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ विन्दुमा झरेको छ । नेप्सेमा १.६१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.८० अंकले घटेर ४०६.४५ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१३ कम्पनीको सेयर कारोबार भएको छ । ६४ लाख १६ हजार ६२९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ व टा उपसमूहमध्ये एउटा बाहेक बाँकी १२ वटामा रातो लागेको छ । हरियो लागेको म्युचुअल फण्डको झिनो ०.१३ अंकले बृद्धि भएको छ ।

आज सबैभन्दा बढी जीवन बीमा उपसमूहको ११९.९९ अंकले गुमाएको छ । माइक्रोफाइनान्सतर्फ ११६.१७ अंकले, नीर्जिवन बीमातर्फ ९५.३२ अंकको गिरावट भएको छ ।

जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ५.९१ प्रतिशतले बढेर २ सय ६० रूपैयाँ पुगेकाे छ । मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य ७.१८ प्रतिशतले घटेर ४ सय ७८ रूपैयाँ कायम भएकाे छ ।

कारोबारको आधारमा लगातार आज पनि शिवम् सिमेन्ट सबैभन्दा बगाडी देखिएको छ । कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९३८ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको थियो ।