बुटवलका १२ क्षेत्रमा असोज २१ सम्म हिंडडुल गर्न निषेध

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित



बुटवल, १८ असोज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न १२ क्षेत्रमा हिंडडुल गर्न निषेध गरेको छ । आज देखि असोज २१ गते बेलुका ६ वजेसम्मका लागि बुटवल नगरपालिकाका विभिन्न १२ क्षेत्रमा ५ भन्दा बढीको समूहमा जम्मा भएर हिंडडुल गर्न प्रशासनले निषेध गरेको हो ।

प्रदेश नं ५ सरकारबाट प्रदेशको नामाकरण र स्थायी राजधानीको नाम प्रदेश सभामा पेश भएको विषयमा असहमति जनाउँदै विरोध प्रदर्शन, तोडफोड, सडकमा टायर बाल्ने लगायतका गतिविधि देखिन थालेपछि प्रशासनले ति क्षेत्रलाई निषेधित क्षेत्र तोकेको जनाएको छ ।

प्रशासनले निषेध गरीएका क्षेत्रमा ५ जना भन्दा बढी ब्यक्तिहरु समूहमा उपस्थित भएर हिंडडुल गर्न समेत नपाउने गरी निषेधि क्षेत्र तोकिएकोले त्यसको अवज्ञा गरेको खण्डमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाईएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा सार्ने प्रदेश सभामा प्रस्ताव भएपछि नेपाली कांग्रेसले चर्को विरोध गर्दै आएको छ । कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेपछि सुरक्षालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा लगाएको हो ।