सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट 

-



     सफल आवाज    
     श्रावण २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ साउन । साताको पहिलो सेयर कारोबार भएको दिन आइतबार नेप्से परिसूचक २१२३.८२ विन्दुमा उक्लिए पनि दोश्रो कारोबारको दिन सोमबार नेप्सेले ओरालोको यात्रा तय गर्दै २१०६.१६ विन्दुमा झरेको छ । नेप्सेमा यसदिन देखिएको करेक्सनले फेरि लगानीकर्ताहरुको मनोबल घटाएको छ ।

यो समयमा बैंक तथा वित्तीय संस्थाहरुको चौमासिक सार्वजनिक भइरहेको छ । चाडपर्वको आगमन तथा मंसिर ४ गते घोषणा गरिएको संघ तथा प्रदेशको निर्वाचनको कुराले बजारलाई सकारात्मक प्रभाव पार्ने आकलन गरिएको थियो ।

तर अझै पनि सेयर बजारमा ढुक्क हुने स्थिति कहिले बन्ने हो त्यो यकिन हुन सकेको छैन । अर्थ क्षेत्रका जानकारहरुले सेयर बजारमा ठूला खेलाडीहरुको हातमा ठूलो संख्यामा सेयर होल्ड भएको कारण यस्तो स्थिति पनि देखा परेको हो । बजार आफ्नो अनुकूलको बनाउन खोज्दा नकारात्मक दृश्यहरु देखिने गरेका छन् । यसको प्रत्यक्ष मारमा साना लगानीकर्ता परिरहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा ओर्लिएको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । ६५ लाख २७ हजार ४१४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये दुई वटामा मात्रै हरियो लागेको छ । म्युचुअल फण्डतर्फ ०.०४ अंकको वृद्धि तथा उत्पादनतर्फ ५.६४ अंकको बृद्धि भएको छ भने बाँकी ११ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा लगातार आज पनि सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९३५रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

साेमबार २ वटा कम्पनी हिमालयन हाइड्राेपावर र गुराँस लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ। जानकी फाइनान्स कम्पनीकाे सेयरमूल्य सबैभन्दा बढी घटेकाे छ । सेयरमूल्य ४.३१ प्रतिशतले घटेर ४ सय ४४ रूपैयाँ भएकाे छ ।