
टीकापुर, १९ असाेज । कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पुर्याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन्।
भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैंचो गरेर खान पनि छोडेको बताए। ‘‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही छाक टार्न सजिलो हुन्थ्यो’’, उनले भने, ‘‘कोरोना भाइरस सङ्क्रमणको डरले बाडीचुडी खान पनि बन्द भयो । जीवन अलि अप्ठ्यारो भएको छ ।’’
गाउँका एक घरमा कुनै चिज भए गाउँभरीको काम चल्ने चलन रहेको थियो । अहिले कोरोनाका कारण गाउँघरमा पैँचो दिने कुरामा आनाकानी गर्ने गरेको विशालनगर शिविर टीकापुरका जयसुर सार्कीले सुनाए। ‘‘हामी विपन्न समुदायका मानिस एउटाको घरमा दाल पकाए अर्कोले तरकारी पकाएर खाने चलन छ’’, उनले भने, ‘‘आजभोलि एक अर्काको घर आजजाउ नै बन्द छ । बाडेर खाए त रोग सर्ला भन्ने डर छ ।’’
टीकापुर ४ की रुबिना साउँदको दुई वर्षीय छोरा छ । रुविना र उनीका छिमेकीको आँगन एउटै छ । सधैँ छिमेकीको घरमै खेल्ने छोराले रुबिनालाई निकै पिरोलेको छ । रुविनाका श्रीमान् जागिरे छन् । ‘‘६ महिनादेखि छोरालाई छिमेकीको घर जान दिएकी छैन, उनीहरुले तिम्रो श्रीमान् घरबाहिर निस्कन्छन्, जोखिम छ यहाँ नआउ भन्छन्’’, रुबिना भन्दछिन्, ‘‘ठीकै हो, अरुलाई किन जोखिममा पार्नु ? तर बच्चाले मानेको छैन । आँगनमा बार लगाएर बच्चा रोकेकी छु । बाँडीचुँडी खान बन्द भएको त ६ महिना पुग्यो । ’’
पछिल्लो समय कोभिड–१९ को जोखिम समुदायस्तरमा फैलिरहकाले नागरिक बढी त्रसित हुन थालेका बताइएको छ । यो सँगसँगै गाउँघरमा मानिसहरु वल्लोपल्लो घर आउजाउगर्ने आनीबानीमा पनि कमी आएको जानकी गाउँपालिका ५ की कलावती चौधरीले बताइन्। ‘‘फुर्सदमा छिमेकमा जम्मा भएर गफ गर्ने, समुदायका समस्याबारे छलफल गर्ने चलन थियो ’’, उनले भनिन्, ‘‘अचेल त बोल्न पनि डराउँछन्, कामकाजी मानिसको त कोही नजिक पनि पर्न चाहन्न ।’’
गाउँघरमा आफन्तबीच घेटघाट हुने, भलाकुसारी गरिने र दुःखसुख बाड्ने चलन सँगसँगै अभाव भएको नुन, तेल लगायतका सामान छिमेकीसँग माग्दा सम्बन्ध नजिक हुने कुरामा सकारात्मक होला । कोरोनाको प्रभाव बढिरहेका बेला यसरी आपसी भेटघाट र अैचोपैचो गर्नु स्वास्थ्यका दृष्टिकोणले जोखिम भएकाले केही समय नगरेकै राम्रो हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेकाे राससले लेखेकाे छ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



