अभियान लघुवित्तकाे सेयर बाँडफाँड साउन ३० गते, साडे १९ लाख बढीकाे हात रित्तै हुने

-



     सफल आवाज    
     श्रावण २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ साउन । अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयर साउन ३० गते बाँडफाँड हुने भएकाे छ । संस्थाले साउन १८ गतेदेखि साउन २२ गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन तथा बिक्रीमा ल्याएकाे थियाे । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरिएकाे थियाे । जसबाट ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १२ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याइएकाे छ । बाँकी रहने ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारणहरूका लागि बाँडफाँड हुनेछ । 

अभियान लघुवित्तकाे सेयरमा २० लाख ४३ हजार २० जनाले आवेदन पेश गरेका थिए । उनीहरुले २ करोड ३१ लाख १६ हजार ९० कित्ता माग गरेका हुन् ।

संस्थाले माग गरेकाेभन्दा बढी सेयरमा आवेदन परेकाेले गाेलाप्रथाद्वारा बाँडफाँड गरिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएकाे छ । ९१ हजार ३७५ जनाकाे हातमा सेयर हुने भने बाँकी १९ लाख ५१ हजार ६४५ जनाको हात रित्तै हुनेछ ।