अब क्यूएफएक्सको टिकट खल्ती एपबाट ५० सेकेन्डमै किन्न सकिने

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काडमाडौं, २९ साउन । अब क्यूएफएक्स सिनेमाको टिकट खल्ती एपमार्फत् पनि किन्न सकिने भएको छ । चलचित्रको टिकट खरिद थप सरल बनाउन खल्तीले क्यूएफएक्ससँग साझेदारी गरेको हो । यो साझेदारी अन्तर्गत अब खल्ती एपमार्फत् प्रयोगकर्ताले ५० सेकेन्डमै क्यूएफएक्सको टिकट खरिद गर्न सक्ने खल्तीकी प्रेस संयोजका आकृति शर्माले बताइन् ।

यसअघि क्यूएफएक्सको टिकट क्यूएफएक्सकै वेबसाइट लग इन गरेर वा  क्यूएफएक्सको एपबाट मात्र किन्न सकिन्थ्यो भने यो साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले सिधै खल्ती एपमार्फत टिकट किन्न सक्ने भएका हुन् । यसबाहेक साविक क्यूएफएक्स को एप अथवा वेबबाट टिकट खरिद गरेर भुक्तानी भने खल्तीमार्फत् पनि गर्न सकिनेछ।

यो नयाँ सुविधाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘खल्तीलाई हामी हरेक नेपालीको जीवनशैलीको रूपमा स्थापना गर्ने उदेश्यका साथ अघि बढिरहेका छौं । मनोरञ्जन क्षेत्रमा पनि क्यूएफएक्स जस्तो प्रचलित सिनेमा हलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं । खल्ती र क्यूएफएक्स बिचको यो साझेदारीले मुभी टिकट खरिद प्रकृयालाई अझै सहज बनाउने र यसले चलचित्र प्रेमीहरू माझ निकै हर्ष छाउने आशा राख्दछौँ ।’