अनुगमन टोली पुगेपछि पसलै छोडेर भागे व्यापारी

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



काठमाडौँ, १९ असोज । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन । काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो । अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन् ।

यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने भएपछि भागेको अनुगमन टोलीको भनाइ छ । अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको महानगरको पशुसेवा विभागका पशुसेवा अधिकृत डम्मरबहादुर बमले जानकारी दिए। यसरी भागेका व्यापारीलाई अनुगमन समितिमार्फत आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा बोलाइएको छ ।

खरिदबिक्री बिल जारी नहुँदा माछा कहिले प्याकिङ् गरिएको हो भन्ने कुरा थाहा नहुने बताइएको छ । अनुगमनका क्रममा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाका अनुसार खरिदबिक्री बिल जारी नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठगिनु हो ।

काठमाडाैं माछा बजार समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले केही समय व्यापारीलाई सुध्रिने समय दिनोस् भन्दै आगामी दिनमा कानून नमान्ने व्यापारीलाई कारवाहीका लागि आफैबाट पनि सहयोग गर्ने बताए । अनुगमनका क्रममा सप्तरी माछा पसलमा भेटिएको नौ किलो सडेको माछा जफत गरिएको छ राससले लेखेकाे छ।