अमलेखगञ्जमा शुरु भयो पेट्रोल भण्डारण गृह निर्माणको काम

-



     सफल आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित



बारा, ३ भदौ । अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माणको काम शुरु भएको छ । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य अन्तर्गत दोस्रो चरणको कामका रुपमा आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो ।

मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइपलाइनबाट पेट्रोल  आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ । मोतिहारीदेखि अमलेशगञ्ज ७६ किमीको दूरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन ९आइओसी०ले गर्ने बताइएको छ ।

डिपोका प्रमुख प्रदीप यादवका अनुसार उक्त पूर्वाधार निर्माण गर्न १ अर्ब ३० करोड लाग्ने अनुमान रहेको र भण्डारण गृह नबनेका कारण  पाइपलाइनबाट पेट्रोल ल्याउन नसकिएको बताए । उक्त परियोजनाअन्तर्गत पहिलो चरणको २०७६  भदौ २४ गते सम्पन्न कार्यबाट पाइपलाइनबाट डिजेल आयात गर्न सुरु भएको बताइएको छ ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण  गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको छ । साथै डिजेल र पेट्रोलको गुणस्तर परीक्षण गर्न प्रयोगशाला र आधुनिक प्रविधिसहित ट्याङ्कर लोड र अनलोड गर्न २४ वटा लोडिङ फिलिङ्गसेट निर्माण गर्न लागिएको हो ।