इष्टर्न हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन दिन पाइने

-



     सफल आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ भदाै । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट ६ लाख २० हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजनाबा प्रभावित भएका जनताका लागि सेयर बिक्रीमा ल्याएकाे हाे ।

प्रतिकित्ता रु १०० अंकित दरमा ६ लाख २० हजार कित्ता सेयरमा आयोजनाबाट प्रभावित भएका भोजपुर जिल्लाका सम्पूर्ण जनताले आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटिमा १० तथा बढीमा १ लाख कित्ता सेयरमा आवेदन पेश गर्न पाउनेछन्। लगानीकर्ताले भदौ २१ गतेसम्म आवेदन दिन पाउनेछन् ।

साे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असोज ५ गतेसम्म आवेदन दिन पाइनेछ। सेयरमा इच्छुक लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक तथा लक्ष्मी बैंकका भोजपुरमा रहेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको भन्ने हाे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।