साउन महिनामा ६० करोडभन्दा बढीको लसुन/प्याज आयात

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ भदौ ।  नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनभरमा ६० करोड रुपैयाँभन्दा बढी रकमको लसुन/प्याज आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको साउन महिनाको वित्तीय तथ्याङ्क अनुसार नेपालमा भारत र चीनबाट गरी ६० करोड ८२ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ४२ हजार ३७५ किलोग्राम लसुन प्याज आयात भएको छ ।

यसरी आयात गरिएका लसुन तथा प्याज ताजा वा चिस्यान केन्द्रमा राखिएको, सुकाइएको तथा बोक्रासहित र बोक्रारहित गरी विभिन्न प्रकारका रहेका छन् । तीमध्ये प्याज ताजा वा चिस्याइएको दुवै प्रकारको र लसुन भने ताजा, शीत भण्डारमा राखिएको, सुकाइएको, बोक्रासहित र बोक्रारहित खालका रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङ्क अनुसार साउन महिनाभरी चीनबाट ताजा वा शीतभण्डारमा राखिएका ७ लाख २ हजार २४० किलोग्राम लसुन आयात भएको छ जसको मूल्य ८ करोड ४८ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

यसैगरी उक्त अवधिमा भारतबाट भने २ लाख ४ हजार रुपैयाँको २ हजार २७० किलोग्राम त्यसै प्रकारको ताजा वा शीतभण्डारमा राखिएका लसुन आयात भएको छ।

यस्तै भारतबाट साउन महिनाभरी ताजा वा शीतभण्डारमा राखिएका १ करोड ४२ लाख ३६ हजार २९७ किलोग्राम प्याज आयात भएको विवरण छ । यसको समग्र मूल्य ५१ करोड, ४१ लाख २० हजार रुपैयाँ बराबर रहेको छ । यो अवधिमा चीनबाट भने कुनै प्रकारको प्याज आयात भएको छैन ।

सोही अवधिमा भाररतबाट नै सुकाइएको लसुनमध्ये बोक्रासहित भएको र नछुट्याइएको ५६ हजार ४९० किलोग्राम तथा छुट्याइएको र बोक्रा छोडाइएको जम्मा ४५ हजार ७८ किलोग्राम आयात भएको छ । यिनीहरुको मूल्य क्रमश: ५१ लाख १९ हजार तथा ३९ लाख ४१ हजार रुपैयाँ रहेको छ।

समग्रमा १ महिनामा नेपालबाट लसुन प्याजका लागि ६० करोड ८२ लाख १५ हजार रुपैयाँ बाहिररिएकोमा सरकारलेे भने राजस्वस्वरुप १० करोड ६ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ ।