‘लोडसेडिङबाट बिजुली बिक्रीसम्म पुग्नु क्रान्तिकारी उपलब्धि हो’

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणले रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गरेकी छिन् ।

पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रतिको चासो बढ्दै गएको र उपभोक्तासमेत त्यसमा आकर्षित भइरहेको बेला प्राधिकरणले आफ्नै परिसर रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो ।

पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत असाध्यै न्यून हुने यही तथ्यलाई आत्मसात् गर्दै स्वदेशी बिजुलीको खपत बढाउनका लागि चार्जिङ स्टेशन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको ऊर्जामन्त्री भुसालको भनाइ छ ।

कुनै बेला चर्को लोडसेडिङ भोगेका नेपालीका लागि चार्जिङ स्टेशन र इन्डक्सन चुल्होको प्रयोग गर्ने अवस्थामा पुग्नुलाई ‘क्रान्तिकारी कदम’ को सङ्ज्ञा दिँदै उनले भनिन्, ‘हिजो हामी चरम लोडसेडिङमा थियौँ । बिजुलीको एक झल्को पाउनु पनि हाम्रा लागि ठूलो कुरा थियो । आज हामी बिजुली बिक्री गरिरहेका छौँ भने विद्युतीय सवारीसाधनसमेत चलाउने अवस्थामा पुगेका छौं । यो आफैँमा क्रान्तिकारी सुरुआत हो ।’

उनले लोडसेडिङको अन्त्यदेखि बिजुली निर्यातको अवस्थासम्म पुग्नु आफैमा महत्वपूर्ण उपलब्धि भएको भन्दै यसलाई थप विस्तार गर्दै लैजाने योजनामा मन्त्रालय रहेको बताइन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेकीनु मन्त्री भुसालले सरकारले विद्युतीय सवारीसाधन मात्रै खरिद गर्ने निर्णय गरेको र त्यसमा निजी क्षेत्रले समेत साथ र सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

उनले पेट्रोलियम पदार्थको खरिदका लागि मात्रै वार्षिक ३ खर्ब बराबरको रकम विदेशिने गरेको भन्दै त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको उपयोग र स्वदेशी बिजुलीको खपत नै उत्तम विकल्प भएको बताइन् ।

हाल विद्युतीय सवारीसाधन खरिदका लागि नै ६ महिनासम्म प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको भन्दै उनले पछिल्ला दिनमा आकर्षण बढ्दै गएको यसबाट पनि पुष्टि हुने उल्लेख गरिन् ।