बिहिबारसम्म माग पूरा नगरे सरकार विरुद्ध आन्दोलन गर्ने लगानीकर्ताको चेतावनी

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदाै । सेयर लगानीकर्ताहरुले बिहिबारसम्म माग पूरा नगरे सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उनीहरुले अबकाे आन्दोलनले चुनावी अभियानलाई प्रभावित तुल्याउने बताएका छन् ।

नयाँ ब्रोकर लाइसेन्स खुला गर्ने विषयमा आलटाल गरेएपछि र केही मन्त्री त्यसलाई राेक्न लागिपरेपछि सेयर लगानीकर्ताहरु आक्रोशित भएका छन् । धितोपत्र बोर्डबाट पारित भएर स्वीकृतिका लागि मन्त्रिपरिषद् पुगेको विषय त्यत्तिकै अड्काइएको भन्दै लगानीकर्ताहरु आक्रोशित भएका हुन् ।

आगामी बिहीबारसम्म पनि ब्रोकर लाइसेन्स खुला गर्ने विषय क्याबिनेटबाट स्वीकृत नभएमा ५३ लाख लगानीकर्ताहरुको तर्फबाट प्रतिनिधित्व गर्दै वर्तमान सरकार र मन्त्रीहरु विरुद्ध आन्दोलन गरिने, सत्ताधारी दल र मन्त्रीहरु विरुद्ध चुनावी अभियान नै सञ्चालन गरिने बताएका छन् ।

यसअघि १० दिनसम्म आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालासहितका लगानीकर्ताहरुले एक संयुक्त  विज्ञप्ति निकालि नयाँ ब्रोकर लाइसेन्स वितरण रोक्ने कार्यको विरोध गरिएको हो । सेयर लगानीकर्ता एकता समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र लेख्दै आगामी बिहीबारसम्म ब्रोकर लाइसेन्स वितरण गर्ने कार्यलाई मूर्तरुप दिन भनिएकाे छ । 

लगानीकर्ताहरुले नेप्सेमार्फत ध्यानाकर्षण पत्र प्रधानमन्त्रीसमक्ष पुर्याइदिन माग गरेका हुन् । ध्यानकर्षण पत्रमा ५० वटा ब्रोकरको प्रभावमा परी  ५३ लाख भन्दा बढी लगानीकर्तालाई बन्धक बनाउन खोजिएको उल्लेख गरिएको छ । विगतमा १० लाखभन्दा कम लगानीकर्ता रहेका बेला पनि ५० वटा ब्रोकरहरु थिए ।

अहिले लगानीकर्ता संख्या ५३ लाख कटिसकेको छ । अहिले पनि ब्रोकर संख्या यत्तिमै सीमित गरिनु कुनै पनि हालतमा स्वीकार्य नहुने लगानीकर्ताहरुले बताएका छन् । पुँजी बजारमा सिन्डिकेट कुनै पनि हालतमा स्वीकार्य नहुने पनि उनीहरुहरुले बताएका छन् ।

सेयर लगानीकर्ता एकता समितिकाे ध्यानाकर्षण पत्र