नाका खाेल्न व्यापारीकाे माग,गम्भिर नभए अनसन बस्ने चेतावनी

-



     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित



बैतडी, २१ असोज । बैतडीको झुलाघाटका व्यवसायी, व्यापारीले सीमानाका केहि दिनका लागि भएपनि खोल्नुपर्ने माग गरेका छन् । याे समस्याका बारेमा सरकार गम्भीर नभए अनसनसम्म बस्ने उनीहरुले चेतावनी दिएका छन ।

नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने गर्छ । उनीहरू व्यापार व्यवसायका लागि वारपार गरिरहन्छन् । नाका बन्द भएकाेले उनीहरु पारि नै राेकिएका हुन। लकडाउन खुले पनि नाका नखुल्दा व्यापार/व्यवसाय सञ्चालन गर्न नपाएको भन्दै उनीहरूले दुःख व्यक्त गरेका छन ।

नाका नखुल्दा व्यापारी वारि आउन सकेका छैनन्, झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले भने। नाका बन्द भएपछि वारिका दुइ दर्जन बढी व्यवसायी, व्यापारी पारि नै बसिरहेकाे उनले बताए । लामो लकडाउनका कारण बिक्रीका लागि राखिएको सामान बिग्रिसकेका बताइएकाे छ । व्यापारीले केहि दिनका लागि भएपनि सीमापारि बसिरहेका व्यापारीलाई वारि आउने वातावारण मिलाइदिन आग्रह गरेका छन ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नाका खुलाउनका लागि सरकारले निर्णय गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय नाका भएकाले नेपाल सरकारले निर्णय गरेपिछ दुई देशको सहमतिमा खुल्ने उनले बताए । नाका खाेल्नका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सरकारसंग समन्वय गरीसकेकाे छ ।