कुमारी बैंककाे ३ अर्बकाे ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला

-



     सफल आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ भदाै । कुमारी बैंकले आजदेखि १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरकाे वार्षिक ११ प्रतिशत ब्याजदरमा साे ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेकाे हाे।

बैंकले प्रतिकित्ता १ हजार अंकित दरकाे ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गरेकाे हो। यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।

बाँकी रहने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे । सर्वसाधारणका लागि छुट्याइएकाेबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।

ऋणपत्रमा लगानी गर्नका लागि लगानीकर्ताले भदौ २१ गतेसम्ममा आवेदन दिने म्याद रहेकाे छ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा ढीलाेमा ३१ गतेसम्म आवेदन दिन पाइनेछ।

यसका लागि घटीमा २५ कित्ता तथा बढीमा १२ लाख कित्तासम्म सीआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन सकिनेछ।

इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग दिएकाे छ। याे भनेकाे वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने र कर्जा जोखिम मध्यम रहने भन्ने हाे । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।