सहकारी संस्था १५ हजार, सदस्य १ करोड ५० लाख पुग्ने प्रक्षेपण

-



     सफल आवाज    
     असाेज २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ असोज । राष्ट्रिय सहकारी विकास वोर्डको २५ वर्षे रणनीतिक योजना भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई आज बुझाईएको छ । नेपालको सहकारी क्षेत्रको २५ वर्षे रणनीतिक योजना २०७७-०७८–२१०२-०३ मा सहकारीको संस्था १५ हजार हुने र सदस्य संख्या एक करोड पचास लाख हुने प्रक्षेपण गरिएको छ ।

हाल देशभर झण्डै ६६ लाख सहकारी सदस्य रहेका छन । उनीहरु अन्य सहकारीमा पनि सदस्य रहेको भन्ने कुराहरु आईरहेको भएपनि अभिलेख भने पाईएको छैन । अबका दिनमा सदस्यहरु दोहोरिन नदिन र चुस्तता कायम राखे ५ वर्षमा संख्या ७० लाख पुग्ने मन्त्री अर्याललाई बुझाईएको २५ वर्षे योजनामा छ ।

आगामी २५ वर्षमा १ करोड ४० लाख सदस्य पुग्ने र ९० प्रतिशत घरधुरी सहकारीमा संलग्न हुने देखिएको पनि प्रक्षेपण गरिएको योजनामा रहेको छ । यसकासाथै २० वर्षमा प्रत्येक सहकारीका सदस्य संख्या बढेर ९३३ पुग्ने आँकलन छ । यो अनुमान सहकारीको संख्या १५ हजारमा झार्ने प्रक्षेपण अनुसार गरिएको योजना अनुरुप हो ।

आगामी २५ वर्षमा दुई तिहाइले सहकारीको संख्या घटाएर १५ हजारको संख्यामा झार्ने भनिएको छ । साथै प्रतिवेदनमा आउने ५ वर्षमा गरिबी निवारण कोष अन्तर्गतका ३२ हजार सामुदायिक संस्था मर्जरको नीति अनुसार कार्यान्वयनमा जाने भएकोले त्यो बेलामा सहकारीको संख्यामा वृद्धि भएपनि त्यसपछि नबढ्ने भनिएको छ ।