मलेसियाबाट फर्केर गाउँमै छाला व्यवसाय गर्दै दीपक

-



     सफल आवाज    
     भाद्र १८ गते २०७९ मा प्रकाशित



चौतारा, १८ भदौ । गाउँमै व्यवसाय गरेर आर्थिकरूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मेलम्ची नगरपालिका–५ सिन्धुकोटका दीपक बोगटी । विसं २०७० मा रोजगारी खोज्दै मलेसिया गएका उनी अहिले गाउँ फर्केर स्वरोजगार बन्दै अन्यलाई पनि रोजगारी दिइरहेका छन् ।

बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो । विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेको बताउने उनले छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएकाे बताए । बोगटी मात्रै होइन सिन्धुकोटका ९० घरले उक्त व्यवसाय गरिरहेका छन् ।

नब्बे घरको उद्योग व्यवसायको अध्यक्षसमेत बोगटी नै हुन्। बाउबाजेले परम्परागतरूपमा गर्दै आएको व्यवसाय अहिले आधुनिकीकरण गदै नयाँ उपकरणद्वारा सञ्चालन गर्दा झनै राम्रो उत्पादन हुने गरेको अर्का व्यवसायी बालकुमार बस्यालले बताए। उनका अनुसार पहिला–पहिला बाजेहरूले हातले बनाउने गर्थे भने अहिले आधुनिक उपकरणद्वारा सामग्री उत्पादन गरिन्छ ।

अहिले सिन्धुकोटमा चारवटा उद्योग सञ्चालनमा आएका छन् । छाला ब्याग उद्योगमा छालाबाट बन्ने विभिन्न सामग्री उत्पादन हुने गरेका छन् । परम्परागतरूपमा गर्दै आएको छालाको सामान बनाउने पेशालाई आधुनिक उपकरणद्वारा ब्याग, स्कुलब्याग, ल्यापटप ब्याग, पर्स, बेल्टलगायत सामग्री बनाउन थालेपछि युवाहरूले गाउँमै बसेर मनग्य आम्दानी गरेका छन् ।

नगरपालिका, सङ्घसस्था, वडा कार्यलयहरूसँग सम्मन्व गरेर काम गरिरहेको अर्का व्यवसायी चुलबहादुर बस्यालले बताए।