स्थानीय तहमा अस्पताल बनाउन स्वास्थ्य बजेट निकासा

-



     सफल आवाज    
     असाेज २२ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउन स्थानीय तहलाई बजेट पठाएको छ ।

अर्थ मन्त्रालयमार्फत् पहिलो चरणमा २ सय ६४ स्थानीय तहलाई ५ देखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि १ करोड पठाइसकेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउन बजेट पठाइएको हो ।

मन्त्रालयले ५ शैय्याका लागि ५२ स्थानीय तह, १० शैय्याका लागि १ सय ५ स्थानीय तह र १५ शैय्याका लागि १ सय ७ स्थानीय तहलाई अस्पताल बनाउनका लागि रकम पठाएको हो । जसबाट २ हजार ९१५ शैय्याका अस्पताल बन्ने छन् ।

मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई ५ शैय्याका दरले अस्पताल बनाउन बजेट पठाइसकेको जनाएको छ ।

कोरोना भाइरस (कोभिड—१९) को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले अस्पताल नभएका स्थानीय तहलाई ५ शैय्याको अस्पताल बनाउन निर्देशन दिएको थियो ।

पाँच शैय्याका दरले ती स्थानीय तहमा ३ हजार २ सय ४५ शैय्याका अस्पताल बन्नेछन् । अस्पताल निर्माणका लागि प्रतिशैय्या २ लाख दरले बजेट विनियोजन गरी पठाइसकेको छ ।

हरेक अस्पतालमा १ जना चिकित्सक, २ नर्स र १ कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ ।