ठगी गर्ने एजेन्टलाई खोजी खोजी कारबाही गरिन्छ: श्रममन्त्री

-



     सफल आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउँदा ठगी गर्ने एजेन्टलाई खोजी खोजी कारबाही गर्ने बताएका छन् । आज उक्त मन्त्रालयको कल सेन्टरमा प्राप्त श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले यस्तो बताएका हुन् ।

सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेन्टहरुले श्रमिकलाई ठगी गर्ने गरेकोले उनीहरुलाई खोजी खोजी कारबाही गरिने बताएका हुन् । कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने भन्दै ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताए।

‘श्रमिकहरुबाट आएका जटिल खालका गुनासा भए केही समय लाग्छ । सामान्य प्रकारका गुनासाको सम्बोधन कल सेन्टरले पनि गर्छ । बाँकी विभागहरु र मन्त्रालयले गर्ने गरेको छ । धेरै गुनासाहरु समाधान नभएर थन्किएका छैनन् । केही जटिल प्रकारका भएकाले केही समय लाग्छ,’ उनले भने ।

ठगी भएको प्रमाण नभएकाले पनि ‘ठग’ एजेन्टहरुलाई कारबाहीको दायरामा ल्याउन नसकिएको बताउँदै मन्त्री कुँवरले अब ठगी गर्ने एजेन्टहरुलाई खोजेर, अनुसन्धान गरेर कानुनी कारबाही गरिने जानकारी दिए ।

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाउँमा जताततै ठगीको कामलाई नियन्त्रण गर्नुपर्ने बताउँदै अहिले घर जग्गा, फोहोर उठाउने विषयमा समेत दलाली चल्न थालेको र यो सबैको समाधान राज्यको मात्रै काम हो भनेर बस्न नमिल्ने बरु यसमा सबैको भूमिका महत्वपूर्ण हुने गर्दछ ।