
रुपन्देही, २० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताएकि छन् । उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको बताइन।
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन रुपन्देहीको मैनहियामा आज उद्घाटन गर्दै उर्जामन्त्री भुसालले अब सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिइन। “यातायात, सिँचाइलगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्नु जरुरी छ, विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउनेछ, त्यसैले म सवारी किन्न चाहनेलाई विद्युतीय साधन किन्नका लागि अनुरोध गर्दछु”, उनले भनिन्।
सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालको भनाइ छ । “अहिले भारतमा दैनिक चार सय मेगावाट विद्युत् बिक्री भइरहेको छ, बङ्गलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ”, उनले भनिन्। ऊर्जामन्त्री भुसालले विद्युत्को प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन। सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने उनको भनाइ थियो ।
बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अब यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने मन्त्री भुसालको भनाइ छ । अन्य आयोजना समयमै पूरा नहुने परिपाटीकाबीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै मन्त्री भुसालले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युत्को आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अब यो क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने उल्लेख गरे।
प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको बिजुली भारतमा बिक्री गर्न सकिने उनको भनाइ छ । अहिले मुलुकले विद्युत् व्यापारबाट मासिक दुई अर्ब भारतीय रुपैयाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत् दक्षिण एशियामै सस्तो रहेको दाबी गरे। कार्यक्रमका अवसरमा १३२÷३३÷११ केभिएको मैनहिया सबस्टेशनको पनि ऊर्जामन्त्री भुसालले उद्घाटन गरेकि थिइन।
नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो । प्रसारण लाइनको निर्माणसँगै करिब दुईसय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर रहेका छन् ।
आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अब भैरहवा क्षेत्रको विद्युत् समस्या हटेको बताए। स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको बताए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




