२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक, के हो रिपो ?

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ भदाै । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएकाे छ । यसका लागि बैंकले आजै रिपोको बोलकबोल गर्नेछ ।

रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्ने बैंकले जनाएकाे छ । बैंकका अनुसार रिपो आज नै जारी हुनेछ ।

राष्ट्र बैंकले दुई हप्ता अर्थात १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुका लागि रिपो जारी गर्न लागेको हो ।यो असोज ६ गते परिपक्क हुने भएकाे छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णय अनुसार छाेटाे समयकाे लागि तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्छ ।

के हो रिपो ?

बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखियाे भने खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि प्रयोग हुने उपकरणलाई “रिपो” भनिन्छ ।

यस उपकरणको निष्कासनका दिन सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको  केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँड अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ ।

बोलकबोल प्रक्रियाबाट निष्काशन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग हुन्छ । रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि बोलकर्ताले बाँडफाँड अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनुपर्छ ।