
दमौली, २३ भदौ । जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको उक्त आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार गरिएका हुन् ।
आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीका अनुसार हालसम्म ४८ वटा फाउण्डेशन कार्य सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको भण्डारीले बताए ।
आयोजना अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन निर्माणका लागि जम्मा ९४ टावर निर्माण गरिनेछ भने प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रसारण लाइन निर्माणका लागि ५९ कित्तामा रहेको २३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिने त्यसमध्ये तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा रहने जनाइएको छ ।
आयोजनाको दोस्रो प्याकेजअन्तर्गत भूमिगत विद्युतगृहको सुरुङ खन्ने काम हालै सम्पन्न भएको छ । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने काम सकेको हो ।
विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म ३ सय ५० मिटर खनिसकिएको आयोजनाले जनाएको छ ।
पहिलो प्याकेजअन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको र पहुँच सुरुङ १ सय मिटर खनिसकिएको छ भने आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४ सय ३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै दुई सय ८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने तीन सय १४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाईकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर ब्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




