
काठमाडौं, २४ भदाै । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ । कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजारको बजेट प्रस्तुत गरेका थिए। बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ । पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ ।
शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नानका लागि पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधिको संरक्षण र संवद्र्धनलाई कोषले प्राथमिकता दिएको सदस्य–सचिव डा मिलनकुमार थापाले बताए। वैठकमा कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिने बारेमा पनि छलफल भएको थियो । गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए ।
पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा लाग्ने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताए। कोषका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारबाट विभिन्न २६ पुँजीगत कार्यक्रम सञ्चालन गर्न रु २४ करोड विनियोजन भएको छ ।
कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि रु २० करोड ७० लाख पुँजीगत खर्चका लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



