एकै वडाबाट वार्षिक ४ करोडको दूध बिक्री

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



म्याग्दी, २४ भदौ । म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक ४ करोड रुपैयाँ बराबरको दूध निकासी हुन थालेको छ ।  बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक एक हजार लिटर दूध बेच्छन् । वडाध्यक्ष अणबहादुर खड्काका अनुसार तीन वटा सहकारी संस्था र एक जना कृषकले बेनीमा दूध निर्यात गर्दै आएका छन् । 

‘सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बजार लैजाने गरेका छन्’, उनले भने, ‘यो वडाबाट मात्रै दैनिक एक हजार लिटर दूध निकासी हुन्छ ।’  

बास्कुना कृषि सहकारी संस्थाले बास्कुना र थामडाँडाबाट दैनिक दुई ६० लिटर, सिङ्गाको शुभकामना दुग्ध सहकारीले दैनिक दुई सय ६० लिटर र सिमलचौर बीउबीजन तथा कृषि सहकारी संस्थाले मङ्गलाका कृषकसहित चार सय ५० लिटर दूध बेनीमा ल्याउने गरेका छन् ।

सिङ्गाका कृषक कोपीपाल पौडेलले व्यक्तिगतरुपमा दैनिक ४० लिटर दूध बिक्री गर्छन् । वडाभर करिब सयभन्दा बढी कृषकले गाईभैँसी पालन गरेर दूध उत्पादन गरेका छन् । बास्कुना कृषि सहकारीले बेनीमा आफ्नै बिक्री कक्ष सञ्चालन गरेको अध्यक्ष तिलक गुरुङले बताए । ‘बास्कुनालाई फलफूल र दूधमा नमुना ९एफएम फ्रुट–मिलक० भिलेज बनाउने अभियानमा छौँ’, उनले भने, ‘गाईभैँसी पालनबाट कृषकको जीवनस्तरमा परिवर्तन आएको छ ।’

उपभोक्ताको घरमै पुर्याउँदा प्रतिलिटर १ सय २० र डेरीलाई प्रतिलिटर १ सय १० का दरले दूध बिक्री हुने गरेको कृषक पौडेलले बताउँछन् । ‘वार्षिक करिब १७ लाख रुपैयाँ आम्दानी हुन्छ । खर्च कटाएर छ-सात लाख बच्छ’, उनले भने, ‘पशुपालनबाट छोराछोरीको पढाइसँगै घरव्यवहार चलाउन सहज भएको छ ।’

कृषकले घरबाट सङ्कलन केन्द्रमा ल्याउने दूध गाडीमा राखेर बेनी पठाउने गर्छन् । सडक यातायातको सुविधासँगै सिङ्गाका कृषकले दूध उत्पादनका लागि व्यावसायिक गाईभैंसी पाल्न थालेका थिए । विदेशबाट फर्किएका र युवाले पनि गाईभैंसीपालन गरेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले सिङ्गा, अर्थुङ्गे र बरङ्जा क्षेत्रका कृषकले दूध उत्पादन गर्न थालेपछि आयात घटेको बताए । नयाँ फार्म स्थापना, स्तरोन्नति, गोठ सूधार, सङ्कलन केन्द्र स्थापना, दूध ढुवानी गर्ने क्यान आदिमा केन्द्रले सघाएको छ ।

गत आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध सय कृषकले प्रतिलिटर २.५० का दरले १५ लाख ९० हजार रुपैयाँ अनुदान पाएका थिए ।