
काठमाडौं, २९ भदौ । आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीकर्ताले लाभांशस्वरुप २६ अर्ब रुपैयाँ फिर्ता लगेका छन् । हालै नेपाल राष्ट्र बैंकले गरेको नेपालमा प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सर्वेक्षण अनुसार विदेशी कम्पनीहरुले नेपालमा लगानी गरी आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लगेका हुन् ।
यसरी फिर्ता लगिएको लाभांशको हिस्सा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रको रहेको छ भने त्यसपछि उत्पादन तथा बिजुली, ग्यास, वाष्प तथा एयर कन्डिशनिङ क्षेत्रमा परेको तथ्याङ्कले देखाएको छ ।
यसपछि क्रमश: वित्तीय तथा बीमा सेवा, शिक्षा तथा अन्य क्षेत्र रहेका छन् । यो अवधिमा अघिल्ला वर्षहरुमा लाभांश फिर्ता लगेका निर्माण, कृषि वन तथा माछापालन, खानी क्षेत्र, बसाइ तथा खाना सेवा, मानव स्वास्थ्य र सामाजिक कार्य तथा यातायात र भण्डारण क्षेत्रमा भने लाभांशका रुपमा रकम फिर्ता नभएको पाइएको छ ।

यो अवधिमा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने विदेशी कम्पनीले करिब १३ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ लाभांश फिर्ता लगेका छन् । यसैगरी उत्पादन क्षेत्रमा ६ अर्ब ७४ करोड ७७ लाख, बिजुली, ग्यास, वाष्प तथा एयर कन्डिशनिङ क्षेत्रमा ३ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ बाहिरिएको छ ।
यस्तै वित्तीय तथा बीमा क्षेत्रले ८६ करोड ८३ लाख, शिक्षा क्षेत्रले ३० करोड ३० लाख तथा अन्य क्षेत्रले ३५ करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेको छ।
लाभांशको यो आँकडा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा रहेको १२ अर्ब ९० करोडको तुलनामा दोब्बरभन्दा पनि बढी हो भने त्यसको एक वर्षअघि अर्थात् आव २०७५/७६ को तुलनामा केही कम हो । विवरण अनुसार आव २०७५/७६ मा विभिन्न विदेशी कम्पनीले नेपालमा लगानी गरेर २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांश रकम फिर्ता लगेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




