दसैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदौ । सर्वसाधारणले आज भदौ २९ गते बुधबारका दिनदेखि दसैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

दसैंलाई लक्षित गरेर राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थालाई केही दिनअघि नै नयाँ नोट उपलब्ध गराइसकेको बताइएको छ । यस हिसाबले नयाँ नोट साट्न राष्ट्र बैंक नै धाउन नपर्ने र  आजदेखि भने अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि उक्त सुविधा सर्वसाधाररणले पाउने भएका हुन् ।

यो सुविधा हाल काठमाडौं उपत्यकामा लागू हुने र उपत्यका बाहिरको हकमा आगामी असोज २ गतेदेखि नयाँ नोट साट्न पाइने केन्द्रीय बैंकले जनाएको छ । दसैंमा नयाँ नोट प्रयोग गर्ने चलन रहेकाले केन्द्रीय बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट साट्ने सुविधा प्रदान गर्दै आएको छ । नयाँ नोट राष्ट्र बैंकबाट बाँड्दा व्यवस्थापन गर्न नसकिने भएकाले सर्वसाधारणको चापलाई मध्यनजर गर्दै अन्य वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट पनि यो सुविधा उपलब्ध हुँदै आएको छ ।

दसैंका लागि केन्द्रीय बैंक तथा वाणिज्य बैंकहरुमा सर्वसाधारणको भिड लाग्ने गरेको छ भने दसैंमा घर फर्कनुअघि नै नोट साटिसक्नुपर्ने बाध्यताका कारण उपत्यका बाहिरका सर्वसाधारणको घुइँचो बढी हुने गर्दछ । राष्ट्र बैंकले दसैंमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु उपलब्ध गराउने गरेको छ ।

सबैले नयाँ नोट पाउन् भन्ने हिसाबले एक जनालाई ५, १०, २०, ५० र १०० दरका मिलाएर जम्मा १८ हजार ५ सय रुपैयाँ बराबरको नयाँ नोट पाउने व्यवस्था गरिएको छ ।