आईएमईआई दर्ता नभएका मोबाइल आजबाट नचल्न‍े

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० भदौ । नेपालमा आजबाट आईएमईआई दर्ता नगरिएका अवैध मोबाइल फोन नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमकाे सफट् लन्च तोकिएकै मितिमा गर्ने भएपछि अवैध मोबाइलले काम नगर्ने भएको हो ।

प्राधिकरणका अनुसार यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भित्रने मोबाइल अनिवार्य दर्ता हुनुपर्नेछ । विदेशबाट ल्याइएका मोबाइल पनि दर्ता गराएर मात्रै चलाउन पाइनेछ । तर भदौअघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । सफ्ट लन्च भए पनि यसको पूर्णरुपमा कार्यान्वयनमा आउन भने अझै समय लाग्ने दूरसञ्चार प्राधिकरणको भनाइ छ ।

यसका लागि हाल चाबहिलमा रहेको भवनमा उपकरणहरु जडान भइसकेका भए पनि आवश्यक डाटा सेन्टर भने आइनसकेकाले तत्कालका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्र नेपालको गर्भमेन्ट इन्टिग्रेटेड डाटा सेन्टर (जीआइडीसी)लाई प्रयोगमा ल्याउने प्राधिकरणको योजना छ ।

सफ्ट लन्चको दिन प्राधिकरणले विदेशबाट आएका र आइएमईआई दर्ता नभएका केही मोबाइललाई ब्लक गरेर प्रत्यक्ष रुपमा देखाउने कार्यक्रम राखेको छ ।

के हो एमडीएमएस प्रणाली?

एमडीएमएसको पूरा रुप मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम हो । यसले विदेशबाट नेपाल भित्रिने मोबाइल उपकरणहरुको लगत राख्ने तथा व्यवस्थापन गर्ने काम गर्छ । विशेष गरी अनधिकृत रुपमा गैरकानुनी तरिकाले भित्रिएका मोबाइल डिभाइसहरुरलाई नियन्त्रण गर्नका लागि यो प्रणाली सञ्चालनमा ल्याइन लागेको हो ।

यो प्रणालीले राज्यलाई कर तिरेर भित्रिएका मोबाइल डिभाइसहरुको आईएमईआई दर्ता गर्ने र यसरी दर्ता भएका मोबाइल फोनहरुमा मात्र उपलब्ध सिम कार्डहरुले काम गर्ने बनाउँछ । यस हिसाबले भन्सारर छलेर चोर बाटोबाट भित्रिएका मोबाइल डिभाइसहरुलाई नियन्त्रण गर्न सजिलो हुन्छ । यसो गर्दा राज्यले यस्ता अनधिकृत बाटोबाट आएका उपकरणका कारण गुमाउँदै आएको राजस्व पनि प्रणालीबद्ध रुपमा संकलन गर्न सहज हुन्छ ।