बन्द रहेका रसुवागढी र तातोपानी दुवै नाका खुले

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० भदौ । बन्द रहेका रसुवागढी र तातोपानी नाका खुलेका छन् । कोरोना संक्रमण बढेको भन्दै करिब एक महिनाअघि चीनले एकतर्फी रुपमा बन्द गरेका यी दुई नाका आजदेखि फेरि सञ्चालनमा आएका हुन् ।

केही दिनअघि नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले भ्रमणका क्रममा बन्द रहेका ती नाका खोल्ने आश्वासन दिएका थिए । उनको यो आश्वासन लगत्तै रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएका हुन् ।

यीमध्ये रसुवागढी नाका गत साउन २५ गते देखि तथा तातोपानी नाका गत साउन २१ गतेदेखि चीनको तर्फबाट बन्द रहेका थिए । दसैंको मुखमा न्पाल आउनुपर्ने विभिन्न खाद्यसामग्री तथा लत्ताकपडालगायतका सामग्री चीनतर्फ नै रोकिएकाले यसपालीको दसैंमा सामान अभाव हुने र त्यस हिसाबले महँगी  पनि बढ्ने चिन्ता बढेर गएको थियो ।

तर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुको भ्रमणपछि यी नाका आज बिहीबारदेखि पुन: सञ्चालनमा आएपछि सरकार, व्यवसायी तथा सर्वसाधारणले यसलाई सकारात्मक रुपमा हेरेका छन् ।

यी दुवै नाका सञ्चालनमा आएसँगै यसअघि चीनको भूमिमा रोकिएर बसेका विभिन्न मालसामान लादिएका ७ ओटा कन्टेर नेपाल प्रवेश गरेका छन् । जिल्ला प्रशासन कार्यालय रसुवाले यसका साथै अरु ७ वटा कन्टेनर पनि आजै साँझसम्ममा नेपाल प्रवेश गर्ने बताएको छ ।