दुई महिनामा ४४ अर्बको पेट्रोलियम नेपाल भित्रियाे

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिनामा ४४ अर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आायत भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती दुई महिनामा आधारित वित्तीय तथ्याङ्कले यस्तो आँकडा देखाएको हो । यो अवधिमा नेपालमा ४४ अर्ब २ करोड ८१ लाख २५ हजार बराबरको पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धन खरिद गरिएको हो ।

यस्ता पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र थोरै मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १ किलोलिटर हवाई इन्धन रहेको छ जसको मूल्य २३ हजार रुपैयाँ उल्लेख गरिएको छ ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार साउन र भदौ महिनामा गरी भारतबाट १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार बराबरको १ लाख ९ हजार ३४८ किलोलिटर पेट्रोल आयात भएको छ । सोही अवधिमा १८ अर्ब ४२ करोड १५ लाख २४ हजार बराबरको १ लाख ४० हजार ४५४ किलोलिटर डिजल ल्याइएको छ।

चालु आर्थिक वर्षको साउन र भदौ महिना गरी भारतबाट १७ करोड ७७ ललाख ९६ हजार बराबरको १ हजार ३ सय किलोलिटर मट्टितेल आयात भएको छ । यसका साथै सोही अवधिमा भारतबाटै २ अर्ब ८१ करोड ८९ लाख ७९ हजार बराबरको २२ हजार १६ किलोलिटर हवाई इन्धन नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो अवधिमा भारतबाट १० अर्ब ४२ करोड ३ लाख ४१ हजार बराबरको ८ करोड ३८ लाख ७१ हजार २ सय किलोग्राम खाना पकाउने एलपी ग्याँस आयात गरिएको छ ।