डा.केसीकाे अनशन ताेडियाे

-



     सफल आवाज    
     असाेज २५ गते २०७७ मा प्रकाशित



काठमाडाैं २५ असाेज । सरकार र अनशनरत डा.गोविन्द केसीबीच सहमति भएपछि आज बिहान उनले अनशन तोडेका छन । उनलाई त्रिवि शिक्षण अस्पतालमा कार्यरत सफाइ कर्मचारी विकास नेपालीले जुस खुवाएका थिए ।

चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै अनशन बस्दै आएका सत्याग्रही प्राडा गोविन्द केसी र सरकारी टोलीबीच गएराति सहमति भएकाे थियाे ।

१९ औं पटक अनशन बसेको २७ औं दिन शनिबार मध्यरातमा त्रिवि शिक्षण अस्पतालमा ८ बुँदे सहमति भएको थियाे । सहमति भएसँगै डा. केसीले आज बिहान अनशन ताेडेका हुन । पछिल्ला २ दिनमा भएका वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि मात्र सहमति जुटेको बताइएकाे छ ।

यसअघि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो । डा.केसीकाे तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा बनेकाे चार सदस्य वार्ता टोलीले वार्ता गरेकाे थियाे ।