श्याम्पू खरिदका लागि २ महिनामा बाहिरियो पौने १३ करोड

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती २ महिनामा श्याम्पू आयातका लागि नेपालबाट १२ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार साउन र भदौमा गरी १२ करोड ७३ लाख ९१ हजार बराबरको श्याम्पू आयात भएको छ ।

विभागले साउन र भदौ २ महिनाको आयात निर्यातका आधारमा सार्वजनिक गरेको तथ्याङ‍्क अनुसार भदौ मसान्तसम्म नेपालमा विश्वका विभिन्न २४ देशबाट २ लाख ८३ हजार २२२ लिटर नुहाउने श्याम्पू आयात भएको छ ।

यीमध्ये भारतबाट सबैभन्दा बढी १० करोड ४ लाख ७ हजार बराबरको २ लाख १० हजार २०१ लिटर श्याम्पू भित्रिएको छ । यसपछि चीनबाट १ करोड ३१ लाख ७३ हजार बराबरको ४५ हजार ८४६ लिटर र थाइल्याण्डबाट ५३ लाख ७० हजार बराबरको ११ हजार ८८२ लिटर आयात भएको विवरणले देखाएको छ ।

यसैगरी दक्षिण कोरियाबाट १३ लाख ७३ हजार बराबरको ५ हजार २६२ लिटर, संयुक्त अरब ईमिरेट्सबाट ५ लाख ७१ हजार बराबरको २ हजार ४०१ लिटर, बेलायतबाट १२ लाख ६९ हजार बराबरको २ हजार लिटर तथा भियतनामबाट १८ लाख १८ हजार बराबरको १ हजार ६६३ लिटर श्याम्पू नेपाल भित्रिएको छ ।

श्याम्पू आयात भएका अन्य देशमा कतार, अमेरिका, अर्जेन्टिना, जर्मनी, कुवेत, टर्की, इटली, ओमन, मलेसिया र फ्रान्सलगातका छन् । कतारबाट ४ लाख ३२ हजार बराबरको ९१४ लिटर अमेेरिकाबाट ५ लाख ६३ हजार बराबरको ९०४ लिटर जर्मनीबाट १२ लाख २५ हजार बराबरको ६५८ लिटर अर्जेन्टिनाबाट ३ लाख ५१ बराबरको ८२८ लिटर कुवेतबाट १ लाख ८३ हजार बराबरको २८३ लिटर तथा टर्कीबाट १ लाख ५४ हजार बराबरको १८२ लिटर श्याम्पू नेपाल भित्रिएको छ ।

यसबाहेक इटली, मलेसिया, ओमन, स्पेन, फ्रान्स, इजरायल, इराक, लिथुआनिया, ब्राजिल र स्विजरल्याण्डबाट ३ हजारदेखि ३ लाख १५ हजारसम्मको १ देखि ७१ लिटरसम्म परिमाणमा श्याम्पू आयात भएको भन्सार विभागको विवरणले देखाएको छ ।