१२ लाख थानभन्दा बढी मास्क आयात

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती २ महिनामा नेपालमा लगभग १३ लाख थान सूतीको मास्क आयात भएको छ । उक्त परिमाणको मास्कको मूल्य ४३ लाख २३ हजार रुपैयाँ रहेको छ । साउन र भदौमा गरी गरिएको मास्क आयातबाट सरकारले १० लाख ५६ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार साउन र भदौमा गरी १२ लाख ७९ हजार ३१३ थान सूतीको मास्क आयात भएको हो । विशेषगरी कोरोना सङ्क्रमण बढ्दै गएको र केही समययता मानिसहरु धुलो धुवाँ र सङ्क्रमणबाट सजग रहनका लागि विभिन्न प्रकारका मास्कको प्रयोग गर्दै आइरहेका छन् ।

कोरोना महामारी फैलिए यता नाकमुख छोप्ने मास्क नेपालमा पनि बन्न थालेका छन् । तर पनि विदेशबाट यस्ता सामग्रीको आयात रोकिएको छैन । चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा विश्वका विभिन्न १२ मुलुकबाट फेस मास्क आयात भएका भन्सार विभागको विवरणमा उल्लेख छ ।

यीमध्ये चीनबाट सबैभन्दा बढी १२ लाख ३१ हजार ३२३ थान फेस मास्क नेपाल भित्रिएको छ । यसको मूल्य ३६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसपछि भारतबाट ३६ हजार ३३६ थान फेसमास्क आयात भएको छ । यसको मूल्य ३ लाख ८९ हजार परेको छ ।

यसैगरी दक्षिण कोरियाबाट १ लाख २४ हजार बराबरको ४ हजार २३० थान, कतारबाट ४१ हजार बराबरको ६ हजार ५ थान र हङकङबाट ८१ हजार बराबरको १३२ थान फेस मास्क आयात भएको छ ।

फेस मास्क आयात भएका अन्य देशमा भियतनाम ताइवान सिंगापुर अमेरिका जापान अष्ट्रिया र अष्ट्रेलिया छन् । जापानबाट १४ हजार बराबरको १ हजार ९६, भियतनामबाट ८ हजार बराबरको ५५, ताइवानबाट २ हजार बराबरको ७३ अमेरिकाबाट ३ हजार बराबरको १२, अष्ट्रेलिया र अष्ट्रियाबाट क्रमश ५ र ३ हजार बराबरको १०-१० तथा सिंगापुरबाट २ हजार बराबरको १ थान फेस मास्क आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यी फेस मास्कको गुणस्तर र मूल्य एक समान छैन । कुनै देशबाट आएको एउटै मास्कलाई २ हजार रुपैयाँसम्म परेको छ भने कुनै देशबाट आएको एउटा मास्कको ७ रुपैयाँ मात्र रहे‍को छ ।