भदौसम्म सवा अर्बको ल्यापटप र नोटबुक आयात

-



     सफल आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिना अर्थात् भदौ मसान्तसम्म नेपालमा १ अर्ब २५ करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएको छ ।

भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको भदौ महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा विश्वका २३ देशबाट १ अर्ब २५ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरका १९ हजार ५०८ थान ल्यापटप तथा नोटबुक आयात भएकाे पाइएको छ। यी डिभाइस आयात बापत सरकारलाई १६ करोड ३३ लाख ३२ हजार रुपैयाँ आम्दानी भएको छ ।

सबैभन्दा धेरै चीनबाट १८ हजार ७१६ थान आयात

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी चीनबाट सबैभन्दा धेरै अर्थात् १८ हजार ७१६ थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको तथ्याङ्क छ । उक्त परिमाणको ल्यापटप तथा नोटबुकको मूल्य समग्रमा १ अर्ब २१ करोड ४५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

यसपछि भारतबाट ५३ लाख ७३ हजार बराबरका १८९ थान, मलेसियाबाट ९६ लाख ७४ हजार बराबरको १७३ थान तथा जापानबाट ५१ लाख ४२ हजार बराबरका १४५ थान ल्यापटप तथा नोटबुक डिभाइस भित्रिएको छ । यस्तै अमेरिकाबाट ७३ लाख ६३ हजार बराबरका ९१ थान, ताइवानबाट २१ लाख ५४ हजार बराबरका २५ थान, थाइल्याण्डबाट १४ लाख ७० हजार बराबरको ३० थान, संयुक्त अरब ईमिरेट्सबाट १४ लाख ७० हजार बराबरको २४ थान, दक्षिण कोरियाबाट ९ लाख ११ हजार बराबरको १७ तथा सिंगापुरबाट ८ लाख ५६ हजार बराबरको १३ थान ल्यापटप तथा नोटबुक आयात भएको विवरणमा उल्लेख छ ।

पोल्याण्ड र भियतनामबाट समान १०-१० थान यस्ता डिभाइस आएका छन् जसको मूल्य क्रमश: ९ लाख २६ हजार र ४१ लाख ७२ हजार रहेको छ । यसबाहेक अष्ट्रेलियाबाट ४ लाख ३६ हजार बराबरको ७ थान, बेलायतबाट २ लाख ९२ हजारको ६ थान, नामिबियाबाट ७ लाख ३२ हजारको ४ थान तथा नर्वेबाट ५१ हजार बराबरको २ थान ल्यापटप डिभाइस आएका ।

यसैगरी अष्ट्रिया, हङकङ, कुवेत, म्यानमार, कतार र लिथुआनियाबाट १-१ थान ल्यापटप तथा नोटबुक आयात भएको तथ्याङ्क छ । यसबाहेक ३३ लाख ७१ हजार बराबरका ४० थान यस्ता डिभाइस पनि आयात भएको देखिए पनि कुन देशबाट भित्रिएको भन्ने खुलेको छैन ।