तीन आर्थिक पत्रकार पुरस्कृत

-



     सफल आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ असोज । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को स्थापना दिवसमा तीन जना आर्थिक पत्ररकार पुरस्कृत भएका छन् । कार्यक्रममा संस्थाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन पनि गरेको छ ।

आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो १ लाख रुपैयाँ धनराशीको ‘शारदा– ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ पुरष्कृत भएका हुन् । यसैगरी ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार (५० हजार राशी)’ बाट बाह्रखरी डटकमका विजय पराजुली (हाल अनलाइनखबर डटकममा कार्यरत) र टक्सार म्यागेजिनका अनुप आचार्य पुरष्कृत भएका छन् । उनीहरुलाई नगद र पुरस्कारसँगै प्रमाणपत्र पनि वितरण गरिएको छ ।

जर्नल विमोचन तथा पुरस्कार वितरण समारोहमा डेपुटी गर्भनर बमबहादुर मिश्रले पत्रकारिता पेशा आफैंमा जटिल रहेको बताए । विशेष गरी आर्थिक पत्रकारिता थप जटिल हुनसक्ने उनको धारणा छ । नाफिजले पत्रकारहरुलाई अन्य विषय सिकाउने माध्यम बनेको आफैंमा राम्रो काम रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नाफिजसँग जोडिएर आर्थिक पत्रकारलाई थप दुई पुरस्कार दिने घोषणा समेत गरेका छन् । नेपाल निर्जीवन बीमा व्यवसायी संघले स्रोत जुटाई एउटा कृषि र अर्को बीमा सम्बधी पुरस्कार दिने घोषणा गरेका हुन् । दुई पुरस्कारको धनराशी ५०-५० हजारको हुने पनि उनले घोषणा गरे।

कार्यक्रममा उनले बैंकिङ प्रणाली थप सहज गराउनु पर्ने माग राखे। निक्षेप राख्दा अनावश्यक जानकारी पेश गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा पुगेको उनको तर्क छ। ‘कुनै व्यक्तिले बदमासी गरेर कमाएको पैसा देखिएको खण्डमा अनुसन्धानबाट त्यत्तिकै सरकारले थाह पाउँछ तर अन्य सोझा सिधा मान्छेलाई भने यो व्यवस्थाले थप मार परेको छ’, उनले भने।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष तथा पुरस्कारका ट्रष्टी पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको कुरा हुनुपर्ने र सोही अनुसारको मुद्दा उठ्नु पर्ने बताए।

बैंक तथा बीमा विज्ञसमेत रहेका अर्का पुरस्कार ट्रष्टी तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पत्रकारिता गहिराइमा हुनपर्ने बताए । उनले आफू पनि कुनै समयको पत्रकार नै रहेको स्मरण गर्दै कुनै सूचना सम्पेषण गर्नुमात्रै पत्रकारको जिम्मेवारी नरहेको बताए।

कार्यक्रममा नेपाल घरेलु तथा महासंघका अध्यक्ष उमेशकुमार सिंहले उद्योगी व्यवसायीले गलत गरेको खण्डमा झकझक्याउने काम हुने गरेको भन्दै त्यसले व्यवसयीलाई राम्रो समेत हुने गरेको बताए।