वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत सेयर आरक्षित छ: प्रम

-



     सफल आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत सेयर आरक्षण गरिएको बताएका छन् । मंगलबार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउबाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वानसमेत गरेका छन् ।

गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक्ता रहेको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली समुदायले नेपालमा उत्पादित वस्तुको उपयोगलाई विदेशमा प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रर्वद्धनमा सहयोग पुर्याउन आवश्यक रहेको पनि बताए । यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने उनको विश्वास थियो ।

उनको विचारमा गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुपर्ने तथा सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिने आवश्यकता रहेको छ ।

गैर आवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको आँकडा उनले प्रस्तुत गरे । सम्बोधनका क्रममा प्रम देउबाले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गरे ।