ब्याजदर नबढ्ने हल्लाले नेप्सेमा हरियाली, काराेबारमा नबिल बैंक अब्बल

-



     सफल आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असोज । लगातार ओरालोको यात्रामा गएकाे सेयर बजारकाे दृश्य आज ठीक उल्टाे देखिएकाे छ । अर्थात सेयर बजारले उकालाेकाे यात्रा तय गरेकाे छ । अघिल्लाे दिनकाे तुलनामा काराेबारमा पनि सुधार भएकाे छ भने १३ उपसमूहमध्ये दुइ बाहेक ११ वटा उपसमूहमा हरियाे लागेकाे छ । उनीहरु सबैकाे सेयर बढेकाे छ ।

सेयर बजारमा बैंकहरुकाे ब्याजदर नबढ्ने कुराहरु बाहिर लागेपछि लगानीकर्ताहरु लगानीका लागि अग्रसर देखिएकाेले सेयर बजारमा चमक देखिएकाे आकलन गरिएकाे छ ।

अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरका बारेमा सुझाव लिनका लागि गठन गरेकाे समितिले समितिले खुल्लामुखि अर्थव्यवस्थामा भएकाे देशमा ब्याजदरलाइ स्वतन्त्र रुपमाबजारले निर्धारण गर्ने भएकाेले हस्तक्षेप गर्न नहुने भन्दै सुझाव दिइसकेकाे छ ।

अर्थमन्त्री शर्माले राष्ट्र बैंकमार्फत बैंकरहरुलाई यसका बारेमा ध्यानाकर्षण गराइसकेका छन् भने कात्तिकमा निक्षेपमा ब्याज नबढ्ने हल्ला सेयर बजारमा छरपष्ट भएकाे छ । यसैकाे कारण साताकाे सेयरकाे काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारले अघिल्लाे लिनकाे यात्रालामा ब्रेक लगाउँदै उकालाे लागेकाे हाे ।

यसदिन नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा उक्लिएकाे छ । नेप्सेमा ०.६१ प्रतिशतले बृद्धि भएकाे छ भने सेन्सेटिभ इण्डेक्स २.४८ अंकले बढेर ३६६.११ विन्दुमा पुगेकाे छ । 

बुधबार कूल २२३ वटा कम्पनीकाे सेयर काराेबार भएकाे छ । २० लाख ८५ हजार २ सय ८४ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ । यसबाट ६९ करोड १७ लाख ३७ हजार ८ सय ९४ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

१३ वटा उपसमूहहरुमा व्यापार र म्युचुअल फण्ड बाहेक बाँकी ११ वटा उपसमूहहरुमा हरियाे लागेकाे  । उनीहरु सबैकाे सेयर बढेकाे छ । काराेबारकाे आधारमा सबैभन्दा बढी नबिल बैंककाे काराेबार भएकाे छ । बैंककाे २ कराेड ४० लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे नेप्सेले जनाएकाे छ ।

यसदिन अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ७ रूपैयाँ २० पैसा भएकाे छ । उता एभरेष्ट बैंक डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले घटेर ७ सय ८० रूपैयाँ कायम भएकाे छ ।