तारन्तारको ताकेतापछि बैंक र उद्योगी व्यवसायीबीच विश्वासको संकट उत्पन्न : पालिखे

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



पोखरा, ३० असोज । यतिबेला देशभरका उद्योग, व्यवसायी, साना व्यवसायी र बैंकका ऋणिहरु बैंक, वित्तीय संस्थाहरुको साँवा, ब्याज तिर्न नसकेर बिक्षिप्त अवस्था पुगेका छन् । उनीहरुले बिज्ञप्ती तथा अपिल जारी गर्दै बिराेध जनाएका छन् ।

बैंकहरुले ब्याज तिर्नका लागि अत्याईरहेको र घर घरमा गएर तनाब सिर्जना गरेकोमा व्यवसायीहरुले आपत्ति जनाएका छन् । लामो समयदेखि कोभिडको प्रभाव परिरहेको, बजारको तरलता अनियन्त्रित बजार र सरकारले लिन नसकेको गतिलो अडानको कारण उनीहरुले सडकमा जानुपर्ने बाध्यता आएको बताउँछन् ।

केहि दिनअघि पोखरा पर्यटन परिषदलगायत निजि क्षेत्रका संघ, संस्थाले बैंकहरुले अत्याएर जीवनमरणको दोसाँधमा पुर्याएको बताएका थिए । कतिपय व्यवसायीहरु व्यवसायबाट पलायन भईसकेका छन् भने कतिले व्यवसाय बन्द गरिसकेका छन् । कतिपय चालु अवस्थामा भएपनि व्यापार सून्य छ ।

होटल संघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले आज एक अपिल जारी जारि गरी अर्बौंको लगानी भएको पोखराको पर्यटन व्यवसाय चौपट भएको बेलामा तारन्तारको ताकेतापछि बैंक र उद्योगी व्यवसायीहरुबीच विश्वासको संकट उत्पन्न भएको बताएका छन् ।

अपिलमा लेखिएको छ, बैंक तथा वित्तीय संस्थाहरु उद्योगी, व्यापारी तथा आम नागरिकहरुले जम्मा गरिदिएको निक्षेप परिचालनबाट संचालित हुन्छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले हामीले नै जम्मा गरेको निक्षेप ऋणको रुपमा हामीलाई नै प्रवाह गर्ने पनि सत्य त्यहि हो । बैंक र हामीबीचको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । यो विश्वास भत्कँदा समग्र अर्थतन्त्र नै प्रभावित बन्न पुग्छ ।

पछिल्लो समय कर्जामा ब्याजदर वृद्धि तथा किस्ता बुझाउने तारन्तारको ताकेतापछि बैंक र उद्योगी व्यवसायीहरुबीच यस्तै विश्वासको संकट उत्पन्न भएको उनले बताका छन् । बैंक तथा वित्तीय संस्थाहरुले हामीलाई ऋणीमात्रै देख्दा यो परिस्थिति सिर्जना भएको तथ्य जगजाहेर रहेको अपिल उल्लेख छ ।

हिजो अनुकूल समय हुँदा हामीले बैंकमा पैसा थुपार्दिएकै हो । ऋण पनि लिएकै हो र समयमा किस्ता एंव ब्याज भुक्तानी पनि गरेकै हो । तर, आज समय अनुकूल छैन । कोभिड–१९ को पोस्ट रियाक्सन, युक्रेन–रुस युद्ध र संसारभर नै प्रतिकूल बनेको अर्थतन्त्रले हामी उद्योगी व्यवसायीहरु प्रभावित भएका छौँ ।

पालिखेले अहलिे कारोबार खस्केको र ऋण काढेर गरिएको लगानीबाट प्रक्षेपण गरिएजस्तो परिणाम आउन नसकेको जिकिर गरेका छन् । ऋण लिएपछि तिर्नुृपर्छ, मृत्युपछि पनि ऋणले छाड्दैन भन्ने कटुसत्य हामीलाई थाहा छ । हामी घरजग्गा बेचेर पनि ऋण तिर्न चाहन्छौं तर नेपाल सरकारले जारी गरेको नियमानुसार पालिकाहरुले जग्गाको वर्र्गीकरण नगरिदिएकाले आफ्नै जग्गासमेत बेच्न पाएका छैनौं ।

केन्द्रिय बैंकको नीति–निर्देशन र बैंक तथा वित्तीय संस्थाको बासलातमा प्रोभिजनको कारण देखाई हामी निरीह उद्योगी, व्यापारीलाई बाध्यतामा पारी मानसिक, पारिवारिक पीडा दिनु कति न्यायोचित होला ? जबकि, हामीले लिएको ऋण रकमभन्दा धेरै जमानत पनि दिएका छौं । हामीलाई यतिबेला आड र भरोशा चाहिएको छ ।

तपाईं, बैंक, बित्तीय संस्था तथा जनता जनार्दनले हाम्रो पीडा महसुस गरिदिनु हुन्छ भन्ने आशा र विश्वासको अपेक्षा गरेका छौं