यसरी सम्झियो महासंघले दिवंगत अध्यक्ष महर्जनलाई प्रथम वार्षिकीमा

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ असोज । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अध्यक्ष रमेश महर्जनको आकस्मिक एवं असामयिक दुःखद निधनको प्रथम वार्षिक जयन्तीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।

वि.सं. २०२१ मंसिर ८ गते ललितपुरमा जन्मिएका महर्जनको २०७८ कात्तिक १ गते दुःखद निधन भएको थियो । संस्थापक अध्यक्ष महर्जनले महासंघको स्थापना काल देखि नै कुशल नेतृत्व प्रदान गर्दै आएका थिए ।

महर्जनले आभुषण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख आधार स्तम्भ बनाउन मुलुकभरका गहना व्यवसायीहरु र सम्बन्धित क्षेत्रका संघहरुलाई संगठित गरेका थिए । उनले मुलुककै पहिलो महासंघ स्थापना गर्न अग्रणी भूमिका निर्वाह गर्नुका साथै जीवनपर्यन्त सशक्त नेतृत्व प्रदान गरेको महासचिव किसान सुनारले जारी गरेको बिज्ञप्तीमा जनाईएको छ ।

सामान्य कृषक परिवारमा जन्मिएका महर्जन पहिलो पुस्ताका ज्वेलर्स थिए । उनाँले स्थापना गरेको आर.बी. डायमण्ड ज्वेलर्स प्रा.लि. झण्डै २५ वर्षको अवधिमा देशको एक प्रमुख ज्वेलर्स बन्न सफल भएको छ ।

नेपाली मौलिक बहुमूल्य गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराई निर्यात प्रवद्र्धन गर्ने कार्यमा उनी निरन्तर सक्रिय रहेका थिए । यस कार्यमा आम गहना व्यवसायीलाई अभिप्रेरित गरेका थिए भने नेपाल सरकार एवं मुलुकका सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए ।

निजी क्षेत्रको सहकार्य, एकता एवं समन्वयात्मक प्रयासले नै मुलुकको अर्थतन्त्रलाई सम्बृद्ध बनाउन सकिन्छ भन्ने मान्यता राखेका स्वर्गीय महर्जन नेपाल जेम एण्ड ज्वेलरी काउन्सीलका अध्यक्ष, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य थिए । साथै नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिका अध्यक्ष र नेपाल कोरिया चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि, नेपाल म्यानमार चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि लगायतका द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुमा समेत सक्रिय थिए ।

सामाजिक सेवा क्षेत्रमा पनि उनको योगदान थियो । उनले “माया फाउण्डेशन” को स्थापना गरी विपन्न र पिछडिएका समुदायका लागि शीप तथा रोजगारीमूलक कार्यक्रमहरु संचालन गरेका थिए ।

२०७२ सालको विनाशकारी भूकम्पबाट आवास गुमाएका विपन्न परिवारको लागि फाउण्डेशनद्वारा प्रवद्र्धित “पिलाछेँ पुननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजना” लाई नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्रधिकरणले “गुरु योजना” को रुपमा ग्रहण गरी मुलुकभर कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो ।

स्वर्गीय महर्जनले न्हुदँ राष्ट्रिय समारोह समिति नेपाल संवत ११४० र ११४१ को अध्यक्ष भई कार्य गरेका थिए । अल्पायुमा नै भएको उनाँको दुःखद निधनले अपुरणीय क्षति भएको महासंघले जनाएको छ । महासंघले एउटा संस्थापक, कुशल मार्गदर्शक, अभिभावक एवं राष्ट्रले एउटा होनहार उद्यमी, व्यवसायी एवं समाजसेवीलाई गुमाएको जनाएको छ ।

महासंघले उनको अधुरो सपनालाई साकार पार्नु सबैको कर्तव्य र दायित्व भएको जनाउँदै प्रथम वार्षिक जयन्तीको यस घडीमा श्रद्धा सुमन अर्पण गरेको छ । सार्थैै स्वर्गीय महर्जनको परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।