‘सबैका लागि पढाइ कार्यक्रम’ समापन, मेयर आचार्यद्वारा सृजना बहिरा माविलाई ४० ट्याबलेट हस्तान्तरण

-



     आरजू विष्ट सल्यानी    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



पोखरा, २ कात्तिक । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले बिगत ४ वर्ष देखि संचालन गर्दै आएको ‘सबैका लागि पढाई कार्यक्रमको समयावधि सकिएको जनाएको छ ।

संस्थाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, यूएसएआईडी, ह्याण्डीक्याप इन्टरनेशनल र वर्ल्ड एजुकेशनको सहयोगमा कास्कीका सबै पालिकामा बालबालिकाका लागि अपांगता समावेशी शिक्षाको कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रमले अपाङ्गता समावेशी शिक्षाको संवैधानिक र नीतिगत प्रतिवद्धताहरु कार्यान्वयन गर्नका लागि संघीय, प्रदेश र स्थानिय तहमा संस्थागत क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ । अपांगता भएका बालबालिकाहरुको शिक्षामा पहुँच, सहभागिता र सिकाई उपलव्धिको हिसाबले सबैभन्दा सीमान्तकृत समूहमा रहेका छन् । यसमा पनि ग्रामिण क्षेत्रमा रहेका अपांगता भएका बालबालिकाहरुको पढाई सिकाई कम रहेको छ ।

अब स्थानिय सरकारले यस परियोजनाका असल अभ्यासको नमूनालाई अपनत्व ग्रहण गर्दै दीगोपन र संस्थागत गर्न परिपूरणको काम गर्नुपर्ने देखिएको छ । विद्यार्थीको कार्यगत सीमितताको पहिचान गरी शारिरीक कठिनाई र अवरोधहरुको उचित व्यवस्थापन र सहजिकरण गरेको खण्डमा उनीहरुको पठानपाठनको सीपमा सुधार ल्याउन सकिने जनाईएको छ ।

स्वाबलम्बन जीवनपद्धतिका अध्यक्ष हेम बहादुर गुरुङले अपांगता भएका बालबालिकाको तथ्यांकमा सुधार ल्याउने, पढाइ तथा सीप सुधारका लागि गुणस्तरीय प्रशिक्षण्, संस्थागत र प्राविधिक क्षमता बढाउन सहयोगि भएको बताए । संस्थाले कास्कीमा अपाङ्गता समावेशी शिक्षा र प्रारम्भिक पहिचान सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम, प्रध्यानापकहरुलाई २ दिन तालिम, कक्षागत शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु विद्यालय स्तरमा १ दिने अभिमुखिकरण गरेको गुरुङले जानकारी दिए । साथै तथ्यांक व्यवस्थापकहरूका लागि एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम प्रदान गरेको थियो ।

संस्थामा सो समयमा अपाङ्गता भएका बालबालिकाको वैयक्तिक शैक्षणिक योजनाको प्रवर्द्धन र प्रयोगमा सहयोग गरेको, प्रारम्भिक पहिचान मार्फत विद्यालयका बालबालिकाहरूको कार्यगत सीमितता ठम्याउने, जटिल प्रकृतिका स्वास्थ्य समस्या देखिएका बालबालिकाहरूलाई रेफरल सेवा मार्फत अपाङ्गता निदान गर्ने, अपाङ्गता निर्धारण भएकालाई परिचय पत्र र सरकारबाट प्राप्त सेवा सुविधामा पहुँच पुर्याउन र सहायक सामाग्री सहयोग गरेको थियो ।

गाउँपालिका र महानगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि, निरन्तर प्राविधिक सहयोग, श्रोत शिक्षकलाई तालिम र कास्कीका श्रोत कक्षाहरुमा शैक्षिक सिकाइ वातावरण सुधार गर्नका लागि विभिन्न सामग्री सहयोग गरेको थियो । परियोजनाले प्रारम्भिक बाल कक्षादेखि कक्षा ३ सम्मका बालबालिकाहरुको सिकाईका लागि सहयोगि भएको बताईएको छ ।

महानगरपालिका सधैं साथमा : मेयर आचार्य

यसैबीच स्वाबम्बन जीवनपद्धति केन्द्र पोखराले बुधबार पोखरा महानगरपालिकाको सभाहलमा परियोजना समापन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेयर धनराज आचार्यले आपांगता भएकाहरुको लागि महानगरपालिका सधैं साथमा रहेको बताए । पूरानो संरचना भएपनि महानगरको आगनमै रहेको हेल्लो मेयरको सभाकक्ष आपांगतामैत्री बनाईएको बताउँदै आफु अपांगता भएकाहरुको हर कार्यमा साथ दिन तयार रहेको बताए ।

आचार्यले केहि समय अगाडी संस्थालार्इ एउटा गाडी पनि उपलव्ध गराएको जानकारी दिदैं भविष्यमा महानगर साथमै रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पोखरा महानगरपालिका तथा सबै पालिकाका शिक्षा शाखा प्रमुखलाई मेयर आचार्यले सम्मान पत्र प्रदान गरेका थिए । साथै स्वाबलम्बन जीवनपद्धति केन्द् -पोखराले सृजना बहिरा माविका लागि सबैका लागि पढाइ कार्यक्रम मार्फत ल्याएका ४० वटा ट्याबलेट शिक्षिका आराधना सुवेदीलाई हस्तान्तरण गरे ।

स्वावलम्बन जीवपद्धतीका अध्यक्ष हेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा सहभागिलाई महासचिव अञ्जना के.सी.ले स्वागत गरेकी थिईन । संचालन दिलमाया गुरुङले गरेकी थिईन ।