कोरोना बीमा बापत १ अर्ब ८१ करोड वितरण गरिँदै

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । कोरोना बीमा बापत् १ अर्ब ८१ करोड वितरण गरिने भएको छ । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी शुरु गर्न लागेको बुझिएको छ । कोरोना बीमा दाबी भुक्तानीको लागि अर्थमन्त्रालयले हालै १ अर्ब रुपैयाँ निकासा गरेपछि समितिले भुक्तानी प्रक्रिया अगाडि बढाउन लागेको हो ।

समितिका अनुसार अर्थले पठाएको १ अर्बमा ८१ करोड रुपैयाँ थपेर १ अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गर्ने तयारी थालिएको हो । अर्थमन्त्रालयबाट आएको १ अर्ब रुपैयाँमा बीमा समिति आफैं, बीमा कम्पनीहरु तथा नेपाल पुनर्बीमा कम्पनीको ८१ करोड थपेर अर्थमन्त्रालयको अनुमति आउने बित्तिकै वितरण प्रक्रिया शुरु गरिने छ ।

कोरोनाको दावी भुक्तानी बाँकी रहेको रकममध्ये ५५ प्रतिशत सरकारले ब्यहोर्ने र ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने प्रारुप बनाइएको छ । १ अर्ब ८१ करोड रुपैयाँ १ लाखका दरले भुक्तानी गर्दा तत्काल १८ हजार १ बीमितले मात्र बीमा रकम पाउने भएका छन् ।

समितिका अनुसार भुक्तानी गर्नुका लागि उपलब्ध रकम थोरै भएकोले पीसीआर परीक्षण गरिएको मितिका आधारमा प्राथमिकता छुट्याएर भुक्तानी दिने तयारी गरिरहेको छ ।

कोरोना बीमाको दावी भुक्तानी वितरणमा सर्वसाधारणलाई पहिलो प्राथमिकतामा राखिने समितिको भनाइ छ । कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले १ अर्ब, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब, बीमा कम्पनीहरुको महाबिपत्ति कोषबाट ५० करोड र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था रहेको छ । त्योभन्दा बढी दाबी परेमा सबै रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ ।

तर यो मापदण्ड अनुरुप प्रक्रिया अगाडि बढाउँदा सरकारलाई बढी भार पर्ने भएकाले दाबी भुक्तानी बाँकी रहेको रकममध्ये ५५ प्रतिशत सरकारले र बाँकी ४५ प्रतिशत बीमा कम्पनी, नेपाल पुनर्बीमा र बीमा समितिले भुक्तानी गर्ने मोडालिटी बनाइएको समितिले जनाएको छ । 

उक्त मापदण्ड अनुरुप निर्जीवन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको महाबिपत्ति कोषबाट ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताइएको छ । समितिमा १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा बापत दाबी परेको छ । तीमध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । अब ७६.५९ प्रतिशतले हुन आउने ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिएको छ ।