पेट्रोलियम पदार्थका लागि ३ महिनामा बाहिरियो ६८ अर्ब

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती तीन महिनामा ६८ अर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती तीन महिना अर्थात् साउनदेखि असोज मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कले यस्तो आँकडा देखाएको हो ।

यो अवधिमा नेपालमा ६७ अर्ब ९३ करोड ८२ लाख ५१ हजार बराबरको ४ लाख ४० हजार ३४७ किलोलिटर पेट्रोल, डिजेल, मट्टितेल र १२ करोड ३६ लाख ५ हजार ६१६ किलोग्राम खाना पकाउने एलपी ग्याँस तथा हवाई इन्धन खरिद गरिएको हो ।

यस्ता पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र थोरै मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १ किलोलिटर हवाई इन्धन रहेको छ जसको मूल्य २३ हजार रुपैयाँ उल्लेख गरिएको छ ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार साउन, भदौ र असोज महिनामा गरी भारतबाट १८ अर्ब २२ करोड ४४ लाख १५ हजार बराबरको १ लाख ७१ हजार ५३२ किलोलिटर पेट्रोल आयात भएको छ । सोही अवधिमा भारतबाटै २९ अर्ब २९ करोड ८१ लाख २४ हजार बराबरको २ लाख २५ हजार १४२ किलोलिटर डिजल ल्याइएको छ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा गरी भारतबाट ३१ करोड ५९ लाख ५२ हजार बराबरको २ हजार ३४० सय किलोलिटर मट्टितेल आयात भएको छ । यसका साथै सोही अवधिमा भारतबाटै ५ अर्ब १५ करोड ६१ लाख ७ हजार बराबरको ४१ हजार ३३२ किलोलिटर हवाई इन्धन नेपाल भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

यो अवधिमा भारतबाट १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार बराबरको १२ करोड ३६ लाख ५ हजार ६१६ सय किलोग्राम खाना पकाउने एलपी ग्याँस आयात गरिएको छ ।