अर्थ मन्त्रालयले थाल्यो त्रैमासिक राजस्व संकलनको समीक्षा

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । अर्थ मन्त्रालयले पहिलो त्रैमासको राजस्व संकलनबारे समीक्षा सुरु गरेको छ । आज बिहीबार आन्तरिक राजस्व विभाग र भन्सार विभागका प्रतिनिधिसँग समीक्षा छलफल गरिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास बितेर वित्तीय विवरण आउने क्रम जारी रहँदा मन्त्रालयले यो अवधिमा संकलित राजस्वका बारेमा समीक्षा गर्न थालेको हो । यो धेरै वस्तुहरुमाथि आयात प्रतिबन्ध लागिरहँदा विदेशी मुद्रा सञ्चितिमा केही सकारात्मक संकेत देखिए पनि सरकारको राजस्वमा भने नकारात्मक असर परेको छ । यो अवधिमा आन्तरिक राजस्व तथा भन्सार दुवैले आफ्ना लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेका छैनन् ।

चालु आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले ६ खर्ब २६ अर्ब तथा भन्सार विभागलाई ६ खर्ब ५० अर्ब राजस्व संकलनको लक्ष्य पाएका छन् । यो लक्ष्य ती कार्यालयहरुले आगामी असार मसान्तसम्म पूरा गर्नुपर्ने हुन्छ । दिइएको लक्ष्य पूरा हुने वा नहुने त्रैमासिक संकलनले संकेत गर्दछन् ।  

राजस्व संकलनलाई प्रभावकारी बनाएर लक्ष्य प्राप्तिका लागि आर्थिक वर्षको सुरुआतमै मन्त्रालयले राजस्व कार्ययोजना निर्माण गरेको छ । सोही कार्ययोजना अनुरुप नै काम गर्दै जाँदा लक्ष्य अनुसारको राजस्व संकलन हुने अपेक्षा गरिन्छ । तर पहिलो त्रैमासमा लक्ष्य अनुरुपको संकलन हुन नसकेका कारण मन्त्रालयले समीक्षामा दुवै विभागसँग सन्तोषजनक राजस्व संकलन नहुनुको कारणको शीर्षकगत छलफल गर्ने बताइएको छ ।

मन्त्रालयले आज बिहीबार पहिलो सत्रमा आन्तरिक राजस्व विभागसँग छलफल र समीक्षा गर्ने दोस्रो सत्रमा भन्सार विभागसँग समीक्षा गर्ने कार्यतालिका बनाएको छ ।