नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ ‘अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा सहभागी हुने

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो मा सहभागी हुने भएको छ । भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सिलका प्रतिनिधिमण्डलले बिहीबार काठमाडौं आएर उक्त शो को निमन्त्रणा दिएपछि महासँघले सहभागिता जनाउने भएको हो ।

काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रबन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणा स्विकार्दै अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायीसहित सहभागिता जनाउने बताएका हुन् । शो आगामी २०७९ पुस २१ देखि २५ गते सम्ममा भारतको मुम्बईमा हुनेछ ।

भेटका क्रममा अध्यक्ष श्रेष्ठले नेपाल– भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र काउन्सिललबीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रबर्द्धनका लागि भएका सहमतिका बिषयमा छलफलसमेत गरेका छन् ।

‘भारतमा आयोजना हुने शोमा वर्षेनी सहभागिता जनाउँदै आएका छौं’, उनले भने, ‘अन्तरराष्ट्रिय मेलामार्फत मौलिक गहनाको अन्तरराष्ट्रिय बजारीकरण, बजार पहुँच लगायत व्यवसायिक सम्बन्धलाई सृदृढ बनाउन यो निमन्त्रणा सार्थक रहेको छ ।’

२ हजार ५ सय ओटा बुथ रहने उक्त शो मा सुन चाँदीका गरगहना, हीरा, रत्न, पत्थर तथा ज्वेलरी, मेसिनरी लगायत छुट्टाछुट्टै पेभिलन गरी १ हजार ३ सय प्रदर्शकहरुले आ–आफ्ना गहना एवं सामानहरुको प्रदर्शनी गर्ने बताइएको छ ।