
पोखरा, असाेज ३० । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपालकाे समग्र पर्यटनमा मासिक १० अर्ब बराबरकाे घाटा परिरहेकाे बताएका छन। पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद्काे समन्वयमा बिहीबार पोखरामा भएको ‘ नवीनतम सामान्य परिस्थितिमा पर्यटन प्रवर्धन तथा ब्राण्डिङ्ग रणनीति तर्जुमा कार्यशाला’मा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले कोभिड– १९ का कारण पर्यटनमा मासिक १० अर्ब घाटा भइरहेको बताएका हुन ।

आन्तरिक र बाह्य हवाई मार्ग सञ्चालनसँगै हिमाल आरोहरण र पदयात्राका लागि बिस्तारै बुकिङ खुला हुँदै गएकाले अब वैकल्पिक पर्यटन खोजी गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सुरक्षाको मापदण्ड अवलम्बन गरेर आन्तरिक पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित देखिए यहाँ सुरक्षा सतर्कता राम्रो भएकाले पदयात्रा पर्यटन,साहसिक खेललगायत ग्रामीण पर्यटनका लागि डराउनु नपर्ने बताए ।
कोभिड –१९ को असरले गण्डकी प्रदेशले रु २७ अर्बको नोक्सानी भोगिसकेको जनाउँदै उनले अब पर्यटनलाई चलायमान बनाउनुकाे बिकल्प नभएकाे बताए । तत्काल पर्यटन क्षेत्रले भोग्नु परेको नोक्सानलाई ध्यान दिएर व्यवसायीलाई राहत प्याकेजमार्फत यस क्षेत्रमा टिकाउन चुनौती रहेको उल्लेख गर्दै उनले रु एक अर्ब राहत प्याकेज मङ्सिरभित्रै वितरण गर्ने गरी पहल गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेश संस्कृति, प्रकृति र साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै यसलाई ब्राण्डिङ्ग गरेर जानुपर्ने धारणा राखे । सांसद खगराज अधिकारीले सुरक्षाको मापदण्ड अपनाएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
सांसद विद्या भट्टराईले अब कोभिड–१९ पछिको पर्यटनको अवस्थालाई अध्ययन गरेर नयाँ मार्ग सिर्जना गरी जानुपर्नेमा जोड दिइन । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरा पर्यटनको विकासमा कार्ययोजनासहित अघि बढेको बताए ।

सो अवसरमा पोखरा महानगरपालिका शहरी योजना आयोग उपाध्यक्ष डा रामचन्द्र लामिछाने, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष टीकाराम सापकोटा र पर्यटनका अध्येता एवं कार्यशालाका सहजकर्ता श्रीकान्त खतिवडाले पोखराको पर्यटनका वर्तमान अवस्था र यसले पारेका प्रभावका साथै कोभिड १९ पछाडिको पर्यटनको विषयमा नवीनतम सम्भावनाको खोजीका बारेमा प्रस्तुति राखेकाे राससले लेखेकाे छ ।
कार्यक्रमको दोस्रो सत्रमा पोखराका पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी संघसंस्थाबीच समूहगत छलफल गरी पर्यटनका सबल पक्षसहित कोभिड १९ पछि कसरी पर्यटन केन्द्रित कार्यक्रम गर्ने भन्ने सामूहिक निष्कर्ष निकालिएको थियो ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



