पाेखराका व्यवसायी आन्दाेलित, राष्ट्र बैंकलाई बुझाए ज्ञापनपत्र

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



पोखरा, २१ कार्तिक । बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अगुवाईमा आज नेपाल राष्ट्र बैंक गण्डकीमा ज्ञापन पत्र बुझाईएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोईराला, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष गोकर्ण कार्किसहित प्रदेशका ११ जिल्लाका उद्याेग वाणिज्य संघका प्रतिनिधिसहितको टोलीले पोखरास्थित बैंकका निर्देशक रामशरण खरेललाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै निर्देशक खरेलले व्यवसायीका मागहरु, परेका समस्याहरुको बारेमा आफुहरु जानकार रहेको र उठाईएका मागहरुको बारेमा राष्ट्र बैंकले निकासको बाटो खोजिरहेको बताए । उनले राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा पोखराले बोल्दै आएको र अहिले पनि वित्तीय समस्याका बारेमा बाेलिसकेकोले यसका बारेमा गम्भिर छलफल हुने बताए ।

ज्ञापनपत्र बुझाउनु अघि पोखरा चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट राष्ट्र बैंक चोकसम्म शान्तिपूर्ण र्यालीको आयोजना गरिएको थियो ।

र्यालीमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका २० वटा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, पोखरा पर्यटन परिषदका पदाधिकारीहरु, पर्यटन व्यवसायी, होटल संघ पोखरामा आवद्ध सदस्यहरु, बस्तुगत तथा विभिन्न पेशागत संघ संस्थाका व्यवसायीहरुको संस्थागत सहभागिता रहेको थियो ।

र्यालिमा उनीहरुले बैंकिङ आतंक बन्द गर, ब्याजदर चर्को भो, गरि खान गाह्रो भो, ब्याजदर एक अंकका कायम गर लगायतका नाराहरु लगाएका थिए ।

यस्तै, गरिखाने भन्दैछ, सरकारको राजश्व घट्दैछ । उद्योग व्यापार नबाँचे, अर्थतन्त्र बाँच्दैन, चालुपूँजी निर्देशिका खारेज गर, तरलताको समस्या समाधान गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।