अनि ‘स्टार’ बनिन् साम्राज्ञी…

-



     कपिल सापकोटा    
     कार्तिक १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ कार्तिक । साम्राज्ञी राज्यलक्ष्मी शाह यस्तो अभिनेत्री हुन्, जसले करिअरको छोटो समयमा नै राम्रो फ्यान-फलोअर्स कमाउन सफल भइन् । डेब्यु चलचित्रबाट नै स्टार बन्न सफल भएकी साम्राज्ञीले चलचित्र क्षेत्रमा आफूलाई अग्रपन्तिमा उभ्याउन सफल रहिन् ।

साम्राज्ञीले चलचित्र क्षेत्रमा डेब्यु गरेको ५ वर्षमा ७ वटा चलचित्रमा काम गर्न भ्याइन् । व्यापारिक तथा समीक्षात्मक रुपमा केही सफल भए, केही असफल पनि रहे । तर, साम्राज्ञीको चर्चा सेलाएन । उनको माग अहिले पनि उस्तै छ ।

लकडाउनको समय साम्राज्ञी एक विवादमा फसिन् । केही चलचित्रमा काम गर्दा शोषण भएको भन्दै साम्राज्ञीले अभिव्यक्ति दिएकी थिइन् । जसमा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले जवाफ फर्काएपछि उनीहरुबीच लामै चर्का-चर्की परेको थियो । जसको कारण साम्राज्ञी विवादित बनिन् ।

यस विवादपछि साम्राज्ञीले अब चलचित्र क्षेत्र नै छोड्ने हुन् कि भन्ने धेरैले अनुमान गरिरहेका थिए । कतिपयले त अब साम्राज्ञीले चलचित्र नै पाउदिनन् सम्म भन्न भ्याए ।

तर, सोचे जस्तो भएन । साम्राज्ञीले निरन्तर चलचित्र साइन गरेकी छिन् । लकडाउनपछि अझ भनौँ उक्त विवादपछि मात्रै साम्राज्ञीले ३ वटा चलचित्रमा काम गर्ने सम्झौता गरिसकेकी छिन् । त्यसबाट साम्राज्ञीले प्रमाण दिएकी छिन् कि, चलचित्र बजारमा साम्राज्ञीको माग अझै घटेको छैन ।

पारिश्रमिकको हिसाबमा पनि साम्राज्ञी अग्रपन्तिमा नै छिन् । उनी सर्वाधिक महंगो पारिश्रमिक लिने अभिनेत्रीमा गनिन्छिन् ।

चलचित्र क्षेत्रमा यत्तिका सफलता पाइसकेकी साम्राज्ञीलाई सुरुवाति दिनमा भने चलचित्र क्षेत्रमा कुनै रुचि नै थिएन । बरु उनलाई त फेसन डिजाइनिङमा चासो थियो । तर संयोग यस्तो बनिदियो कि, साम्राज्ञी सोच्दै नसोचेको चलचित्र क्षेत्रमा स्टार कहलिन पुगिन् ।

अनि मिल्यो डेब्युको मौका

कक्षा १२ को परिक्षा सकिएको दिन थियो । साम्राज्ञी परिक्षा सकिएको खुसीमा दौडिदै घर आइपुगिन् । मन आनन्दित थियो । पास हुने कुरामा शंका नै थिएन ।

घर छिर्न नपाउँदै ममीले साम्राज्ञीलाई बोलाइन् । छेवैमा पुगेपछि ममी बोलिन्, ‘भुवन केसीको फोन आएको छ । तिमीलाई फिल्म खेलाउने रे । बोल्ने भन्नुभएको छ, बोल ।’

साम्राज्ञीको केही अकमक्क परिन् । त्यही पनि फोन समाइन् र ‘हेल्लो’ बोलिन् ।

उताबाट भुवन बोले, ‘नानु, म भुवन केसी । म नयाँ चलचित्र बनाउँदैछु । के तिमी चलचित्रमा काम गर्छ्यौ ?’

अलमलमा नै साम्राज्ञीले ‘हुन्छ’को उत्तर दिइन् । भुवनले साम्राज्ञीलाई भेट्न बोलाए ।

भुवनको अफिसमा बसेर साम्राज्ञी र उनकी मामीले चलचित्रको स्क्रिप्ट सुने । साम्राज्ञीलाई स्क्रिप्ट मनपर्‍यो । फिल्ममा काम गर्न राजी भइन् उनी।

उनको अपोजिटमा युवास्टार अनमोल केसी देखिने पक्का थियो । त्यस कुराले साम्राज्ञीलाई भने कुनै फरक नै परेन । कारण, साम्राज्ञीले अनमोललाई चिन्दिनथिन् ।

साम्राज्ञी भन्छिन्, ‘मेरो अपोजिटमा अनमोल छ भन्ने थाहा भयो । तर अनमोल को हो, मैले चिनेकी थिइनँ। पछि घर आएपछि मात्रै उसको चलचित्र हेरेँ ।’

चलचित्रमा भोग्नु परेको दुःख

स्कृप्ट सुनाउँदै गर्दा भुवनले साम्राज्ञीलाई भनेका थिए- ‘नानु, चलचित्र भनेको लेवर वर्क हो । निकै गाह्रो हुन्छ है ।’

पर्दाको रंगीन दृष्यहरु मात्रै देखेकी साम्राज्ञीले खासै दुख नहोला भन्ने सोच राखिन् । तर दुःख यस्तो पाइन्, जुन उनले सोचेकी पनि थिइनन् ।

जाडो/गर्मी केही भन्न नपाउने । घाम भयो भन्न नपाउने । हिँडेर कहाँकहाँसम्म पुग्नुपर्ने । यो सबै साम्राज्ञीका लागि पीडा नै थियो । हेर्दा जति सजिलो छ, आफैँले गर्दा त्यो भन्दा सयौँ गुणा गाह्रो पाइन् उनले काम गर्दा ।

‘एउटा टेक लिन पनि चारतिरबाट क्यामेरा फिट गरिएको छ । सानो कुरा नमिले पनि फेरि खिचेको छ । ओहो ! एकचोटि त सक्दिनँ जस्तै लागिसकेको थियो’, उनी आफ्नो अनुभव सुनाउँछिन् ।

त्योमात्रै कहाँ हो र ? साम्राज्ञीले त सुटिङ सेटमा हेपाई पनि खेप्नुपर्‍यो । नयाँ भएकै कारण उनलाई थप दुःख थपियो ।

साम्राज्ञीलाई उनको ‘को-एक्टर’ अनमोल केसीको जस्तो सुविधा उपलब्ध थिएन । टेक सकिएपछि अनमोललाई जुस पिउने सोध्न आइपुग्थे । तर, साम्राज्ञीलाई सोध्ने कोही थिएन ।

‘टेक सकिएपछि अनमोललाई छाता ओडाइथ्यो’, उनी सम्झिन्छिन्, ‘मलाई कसैले केही वास्ता गर्दैनथे । त्यो बेलाचाहिँ धेरै दु:ख लाग्थ्यो ।’

अनमोलका लागि ड्रेस उपलब्ध गराइएको हुन्थ्यो । साम्रज्ञीले आफ्ना लागि ड्रेस आफैँ मिलाउनुपर्ने हुन्थ्यो । आफूले ल्याएको ड्रेस पनि ड्रेसम्यानले राम्रोसँग राखिदिँदैनथे । साम्राज्ञी भन्छिन्, ‘मैले ल्याएका ड्रेसहरू पछि ड्रेसम्यानसँग माग्दा फिर्ता पाउँदिनथेँ । कहिले हरायो भनेर त कहिले के भनेर टार्थे ।’

आफूले कस्तो गरिरहेकी छु । आफ्नो कामबाट टिम सन्तुष्ट छ कि छैन, साम्राज्ञीलाई थाहा थिएन । कारण, साम्राज्ञीलाई त्यहाँ कसैले प्रत्यक्ष प्रतिक्रिया दिँदैनथे । उनी चाहान्थिन्, कसैले कामको बारे बोलिदियोस्, सकाइदियोस् । तर, त्यस्तो नहुँदा उनी दुखित थिइन् ।

सुटिङमा गर्नु परेको दुःख र टिमले गरेको व्यावहारबाट साम्राज्ञी दिक्क थिइन् । उनलाई त चलचित्र क्षेत्रमा निरन्तर काम गर्ने रहर नै मरिसकेको थियो ।

टिमसँगको बिमतीका कारण साम्राज्ञी खासै प्रचार-प्रसारमा पनि हिडिनन् । चलचित्र रिलिज हुँदासम्म पनि साम्राज्ञीलाई कुनै मतलब नै थिएन ।

दुःखपछिको त्यो खुसी

ट्रेलर रिलिज भएसँगै साम्राज्ञी चर्चामा थिइन् । फिल्म रिलिजपश्चात् उनको चर्चा झनै चुलियो । हलबाट फिल्म हेरेर निस्केका दर्शकले उनको कामको प्रशंसा गर्दै उनको डाइलग बोलिरहेका थिए ।

फिल्म रिलिज भएको दिन हलमा रिपोर्ट बुझ्नसमेत नगएकी साम्राज्ञीलाई जिया केसीको फोन आयो । जियाले हलको हल्ला सुनाउँदै साम्राज्ञीलाई भनिन्, ‘साम्राज्ञी, तिमीमा यत्तिका हुटिङ आइरहेको छ । तिम्रो कामलाई मन पराएका छन् । हलमा आऊ तिमी ।’

उनी हतारिँदै हलमा पुगिन् । उनले त्यहाँ दर्शकको अपार माया पाइन् । उनी सम्झिन्छिन्, ‘सुटिङ गरेको दु;ख अनि मिहिनेतको फल त्यही पाएकी थिएँ मैले ।’

यस चलचित्रले राम्रो व्यापार गर्‍यो । त्यसपश्चत् साम्राज्ञीलाई चलचित्र अफरको लर्को नै लाग्यो ।

ट्रेलर रिलिजको समयदेखि नै साम्राज्ञीलाई फिल्मको अफर आउन थालेको थियो । तर, ड्रिम्समा काम गर्दा पाएको दु;खबाट उनी फिल्म नखेल्ने मुडमा थिइन् । आएका अफर लत्याउँदै आएकी थिइन् ।

ड्रिम्स रिलिजपश्चात उनलाई दर्शकले मनपराइदिए । उनले दर्शकबाट धेरै माया पाइन् । त्यो देखेर उनको मन पनि त्यतै लोभ्यियो । पुन: फिल्ममा काम गर्ने इच्छा पलायो ।

हिट र फ्लपको श्रृंखला

डेब्यु चलचित्रबाट भब्य सफलता देखेकी साम्राज्ञीले दोस्रो चलचित्र ‘ए मेरो हजुर २’मा काम गरिन् । उक्त चलचित्रले पनि राम्रो सफलता पायो । व्यापारिक रुपमा यस चलचित्र निकै सफल भयो ।

तर, तेस्रो चलचित्रले साम्राज्ञीको सफलतालाई निरन्तरता दिन सकेन । तेस्रो चलचित्र ‘तिमी सँग’ असफल रह्यो । चौथो चलचित्र ‘कायरा’ले पनि साम्राज्ञीलाई सफल बनाउन सकेन ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट भने साम्राज्ञीले पुन: सफलता भेटिन् । व्यापारिक तथा समिक्षात्मक रुपमा पनि यस चलचित्र सफल रह्यो ।

त्यसपश्चात् रिलिज भएको चलचित्र ‘मारूनी’ ठिकठाक रहे पनि ‘रातो टिका निधारमा’ असफल ठहरियो । सोही चलचित्र उनको अन्तिम रिलिज चलचित्र हो ।

साम्राज्ञी आफूलाई चलचित्र हिट र फ्लपले खासै असर नगर्ने बताउँछिन् । उनी भन्छिन्, ‘कलाकारको काम भनेको अभिनय गर्ने हो । हाम्रो दायित्व भनेको नै राम्रो अभिनय गर्नेमा हुन्छ । व्यापार पनि जोडिन्छ, तर व्यापार नै पहिलो हैन ।’

अबको यात्रा

साम्राज्ञीले अहिले लगातार चलचित्र साइन गरिरहेकी छिन् । उनले अभिनेता पल शाहसँग एक चलचित्रमा काम गर्दैछिन् । अर्को चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र साइन गरिसकेकी छिन् ।

तेस्रो चलचित्र भने उनले ‘प्रेम गीत ३’बाट डेब्यु गर्न लागेका मनिष राउतसँग काम गर्ने पक्का भएको छ । जुन चलचित्रमा आना शर्मा पनि मुख्य भूमिकामा प्रस्तुत हुनेछिन् ।

निरन्तर चलचित्र साइन गर्दा साम्राज्ञीले आफ्नो स्टारडम र आफ्नो स्थान देखाउनकै लागि साइन गरेको धेरैले बोलिरहेका छन् । तर, साम्राज्ञी त्यस्तो नभएको बताउँछिन् । उनी भन्छिन्, ‘म कलाकार हो । मलाई चलचित्र क्षैत्रमा नै टिकेर काम गर्नु छ । त्यसैले राम्रो स्कृप्ट भएका चलचित्रमा म काम गर्न तयार भएकी हुँ ।’

साम्राज्ञी चलचित्र अध्ययनको लागि विदेश जाने सोचमा पनि छिन् । यता सम्झौता भएका चलचित्रको काम सकिए लगत्तै उनी कुनै देश चलचित्र अध्ययनको लागि जाने बताउँछिन् ।

उनी भन्छिन्, ‘यही देश जान्छु भन्ने पक्का भएको छैन । तर, यताको सेड्युल मिल्ने बित्तिकै पढ्न जानेछु । मलाई चलचित्रको विषयमा थप बुझ्ने मन छ ।’