भारतबाट घटेर आयो पेट्रोलको मूल्य

-



     सफल आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ म‌सिर । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । इन्डियन आयल कर्पोरेसनबाट निगमलाई बुधबार प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ३ रुपैयाँ ३४ पैसा घटेर आएको छ । यसैगरी डिजेलमा भने १ रुपैयाँ २५ पैसा प्रतिलिटर बढेर आएको छ ।

यसरी दैनिक अत्यधिक खपत हुने पेट्रोलमा मूल्य घटेर आएसँगै निगमलाई प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा हुने बुझिएको छ । यसैगरी डिजेलमा १ रुपैयाँ २५ पैसा बढेर आएकाले प्रतिलिटर १० रूपैयाँ ८६ पैसा घाटा रहेको निगमको भनाइ छ ।

१५ दिनअघि आएको मूलेयसूची अनुसार १५ दिनमा लगभग १८ करोड रुपैयाँ नाफा हुने निगमको प्रक्षेपण रहेको थियो भने अबको १५ दिनमा नयाँ मूल्य सूची र खपतका आधारमा नाफा घाटा के हुन्छ भन्ने आकलन हुने बताइएको छ ।

डिजेलमा अहिले पनि केही मूलेय बढेर आएको र समग्रमा प्रति लिटर १० रुपैयाँभन्दा बढी घाटा रहेकाले यसको माग बढेको खण्डमा १५ दिनमा १५ देखि २० करोड रूपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ । तर सवही अवधिमा नाफामा चलिरहेको पेट्रोलको माग बढी भएमा निगमको नाफामा सहयोग पुग्ने देखिन्छ ।