सफलता रामकलीको, साथ ग्लोबल आइएमई लघुवित्तको

-



     सफल आवाज    
     मंसिर ९ गते २०७९ मा प्रकाशित



दाङ, ९ मंसिर । रामकली बोहरा सल्यान जिल्लाको मार्केमा २०१८ सालमा जन्मिएकी हुन् । उनको बिहे सल्यान जिल्लाकै कुपिण्डेदह स्थायी घर भएका कामी बहादुर बोहरासँग भयो ।

बिहेपछि बोहरा दम्पतीका ३ छोरा १ छोरी जन्मिए । उनीहरुको पालनपोषण,पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । आवश्यकताका हिसाबले बोहरा दम्पती २०५० सालमा सल्यानबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले बसाई सरेर दाङ जिल्लाको तुलसीपुर-१० मा आए ।

दाङ आएपछि बाख्रा पालन व्यवसाय गरिरहेका बोहराको कमाईले जेनतेन घर खर्च टरिरहेको थियो । चार सन्तानका अभिभावक बोहरा दम्पतीको बाख्रा पालनको सानो व्यवसाय विविध कारणले उन्नति हुन नसकेपछि रामकलीका श्रीमान पैसा कमाउन भारत गए ।

श्रीमान् विदेश गएपछि ४ सन्तानको हेररचाह र घर धान्ने जिम्मा रामकलीमा आइपर्यो । केही व्यवसाय गर्छु भन्ने अठोट भए पनि आर्थिक स्थिति कमजोर भएको कारणले रामकली बोहरालाई गाऊँघरमा कर्जा दिन कसैले पत्याएनन् । यही क्रममा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिना धितो कर्जा लगानी गर्छ भन्ने कुरा उनले थाहा पाइन् ।

तुलसीपुरको टरी गाउँमा रहेको ग्लोबल आइएमइको शाखा कार्यालयबाट हातमा सीप भएका तर पैसा नभएका महिला दिदी बहिनीहरुलाई आय आम्दानी गर्न कर्जा लगानी गर्ने कुरा पनि उनले बुझिन् । २०७७ सालको पुषमा रामकली बोहरा पनि २५ जनाको सदस्य रहने स्थापना भएको केन्द्रमा सदस्यको रुपमा आबद्ध भइन् । त्यसै समूहमार्फत् बाख्रापालनका लागि पहिलो पटक ७५ हजार रुपैयाँ  कर्जा लिइन् ।

सानो पुँजीबाट व्यवसाय शुरु गरेर त्यसबाट आएको आम्दानीले किस्ता तिर्दै गर्दा घरखर्च पनि सहजै चल्दै गयो । २ वटा माउबाट पाठा पाठीहरु उत्पादन हुँदै गयो र आम्दानी पनि वृद्धि हुँदै गयो । मेहनत गर्दा आम्दानी हुन्छ भन्ने कुरा थाहा पाएकी रामकलीले आफ्ना आवश्यकता पूरा गर्ने र व्यवसायलाई अझ ठूलो बनाउने मनसायले दोश्रो पटक २ लाख  कर्जा लिइन् । त्यो कर्जाले उनले केही गाई तथा भैंसी पनि थपिन् ।

फर्के कमाउन विदेशिएका श्रीमान्

धन कमाउन विदेश जानु पर्दाको पीडाको भोगेका गरेका उनका श्रीमान पनि फर्केर आए र श्रीमतीले शुरु गरेको व्यवसायमा भरमग्दुर सहयोग गरे । दुवै दम्पती मिलेर आफ्नै व्यवसाय मार्फत मनग्य आम्दानी गर्न सफल भए । आफ्नै फिर्ता पाउनुपर्ने पैसा समेत फिर्ता पाउन गाह्रो हुने समयमा संस्थाले बिना धितो ५ लाख सम्म कर्जा दिन्छ होला भन्नेसम्म नपत्याएकी रामकली ग्लोबल आइएमई लघुवित्तको असल सदस्यमध्ये एक हुन् ।

आफ्नो दैनिकी आफ्‍नै व्यवसायमा बिताउँदै आएकी रामकली भन्छिन्, ‘दु:ख र सुख जिन्दगीको दुई पाटो रहेछ । सुखलाई सबैले आत्मसात गर्न सजिलो हुन्छ भने दुःखको अनुभव गर्न गाह्रो हुदो रहेछ । मैले जिन्दगीको दुःख र सुखलाई आत्मसात गरी यहाँ सम्म आएँ । दुःख परेको समयमा हरेस खाएर बसेको भए आज म यो अवस्थमा आउने थिइनँ । यस काममा ग्लोबल आईमइ लघुवित्त मेरो सहयात्री बनेको छ ।

उनले अगाडि थपिन्,  ‘बल आइएमई लघुवित्तले दिएको साथ सहयोग र हौसलाले मलाई व्यवसायी बनायो । आशा छ ग्लोबल आइएमई लघुवित्तले आगामी दिनमा पनि हामी जस्ता काम गर्ने जाँगर भएका तर पुँजी व्यवस्थापन गर्न नसक्ने लाखौं दिदी बहिनीहरुलाई आय स्तर बढाई आर्थिक आयअर्जान गर्नमा सहयोग गर्ने छ भन्ने आशा लिएकी छु ।’