१६ अर्ब ६३ कराेड बराबरकाे ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । राष्ट्र बैंकले १६ अर्ब ६३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी गराएकाे छ । बैंकले मंसिर १२ गते सोमबार अल्पकालीन ऋण उठाउनका लागि बोलकबोल प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागेको जनाएकाे हो ।

बैंकका अनुसार ९१ दिनकाे लागि ३ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिने भएकाे छ । साे ट्रेजरी बिल फागुन १६ गते परिपक्क हुने भएकाे छ ।

यस्तै,  बैंकले १८२ दिनकाे लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे जनाएकाे छ। साे बिल २०८० साल जेठ १६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकले ३६४ दिनकाे अवधिकाे लागि अर्काे ७ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएकाे छ । साे बिल २०८० साल मंसिर १२ गते परिपक्क हुने भएकाे छ ।

राष्ट्र बैंकले सबै बिल मंसिर भाेलि साेमबार दिनकाे २ बजे बोलकबाेल हुने जनाएकाे छ भने मंगलबार मंसिर १३ गते बिक्री हुने जानकारीफ दिएकाे छ ।

ट्रेजरी बिल के हो ?

नेपाल राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्षका लागि) स्रोत जुटाउन बिल बिक्री गरिन्छ । बोलकबोलको माध्यमबाट ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीबाट पनि गरिन्छ । यसमा ब्याजदरको सट्टा छुटकाे दर लागू हुन्छ । जाे बोलकबोलबाट तय हुन्छ । यसलाई जोखिम नहुने लगानी पनि भन्ने गरिएकाे । यसलाइ सरकारले केन्द्रीय बैंकबाट जारी गर्छ ।

ट्रेजरी बिल नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, सर्वसाधारण, संचयकोष, नागरिक लगानी कोष लगायतका गैर–बैंक वित्तीय संस्था, अन्य संगठित संस्थाले बोलकबोलबाट खरिद गर्न पाउछन्।