राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

-



     सफल आवाज    
     मंसिर १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको डेढ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा ३६६ दिन अवधिको लागि उक्त रकम लगानी गर्ने बताइएको छ ।

राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ तथा ‘ख’ वर्गका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ राखिनेछ । यस्तै ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ गरी कुल १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ लगानी गर्ने योजना रहेको छ । राष्ट्र बैंकले उक्त रकम आगामी  पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्मका लागि मुद्दती निक्षेपमा राख्न लागेको बुझिएको छ ।

यो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर १८ गतेसम्ममा बोलकबोल पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकको शर्त छ ।

राष्ट्र बैंकको निक्षेप लिनका लागि अर्को मुख्य प्रावधान भनेको बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्ने छ । उक्त संस्थामा राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनिवार्य कायम हुनुपर्नेछ ।

संस्थाको अन्य पूर्वशर्तमा निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने लगायतका छन् ।

यसबाहेक शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने छ ।