
तस्वीर:रामबहादुर थापा, रासस
बागलुङ, ४ कात्तिक । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ ।
उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताए । “मह र गोलाबाट वर्षमा रु १० लाख बढी कमाइ हुन्छ”, उनले भने। अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उनको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् । उपाध्यायको उद्योगमा वार्षिक एक हजार २०० किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु एक हजार २०० मा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ रु पाँच हजार ५०० छ ।
“बजारको कुनै समस्या छैन, बरु मह पु¥याउनै सकिएको छैन”, उपाध्यायले भने । उनका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ । एउटै याममा चार÷पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उनले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आएका छन । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिने गरेका ।
विसं २०४५ ताका काठमाडौं चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिएका उपाध्यायले भने, “मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालें । अरुलाई तालिम दिँदै हिड्ने तर आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर विसं २०५१ तिर व्यावसायिक मौरीपालन शुरु गरेँ ।” मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उनी ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भए । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उनको उद्योगलाई नमूना मौरीपालन फार्म घोषित गरी रु पाँच लाख अनुदान दिएको थियो । सफल मौरीपालक किसानका रूपमा उपाध्यायको चिनारी गाउँठाउँमा फैलिएको छ । कतिपयले त उनलाई ‘महराज’ भनेरसमेत बोलाउँछन् ।
उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उनले बताए । “मेरो पेशा र कमाइबाट म सन्तुष्ट छु, मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो”, उनले भने । उपाध्यायको घर–व्यवहार मह÷मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोडेकाे बताए । उनलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् । तीन भाइ छोरा विदेश छन् । जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह÷गोला बेच्ने प्रबन्ध मिलाउछन् । घरमै रहेकी कान्छी बुहारी शर्मिला उपाध्यायसँगै उद्योगमा दैनिक खटिएकी छन्। “मागअनुसार बजारबाटै पनि मह र गोला बेच्छौँ”, खिराले भनिन, “गाउँको मह भनेर खोजीखोजी किन्न आउँछन् ।” उनले ससुराबुवाको मेहेनत र लगाव सबैका लागि अनुकरणीय रहेको बताइन । “परिवारलाई कहिल्यै अभाव भएन, त्यतिका वर्षअघि बुवाले शुरु गरेकाे मौलीपालनमा हामी पनि जोडिन पाएका छौँ”, खिराले भनिन ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



